आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रधानमन्त्रीलाई विष्णु रिजालको प्रश्न : राजकाज चलाउन एउटा व्यक्तिको चिर्कटोमा सही चाहिन्छ र ?

आइतबार, असोज २८ २०८०

काठमडौं । एक चिर्कटोमा प्रधानमन्त्री प्रचण्डसहित सत्ता गठबन्धनका तीन नेताले गरेको तमसुकलाई लिएर एमाले केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ‘चन्द्र शमशेरले देव शमशेरको कोटको धूलो झारेकाे’ प्रसंग सम्झाएका छन्

कोशी प्रदेशमा देखिएको विद्रोहले केन्द्रमा प्रधानमन्त्रीको कुर्सी धर्मराएपछि प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाले डायरीको एउटा चिर्कटोमा हालकाे सत्ता जोगाउन, गठबन्धन बचाउन कबुलियत लिएर उनकाे साे प्रसंग काेट्याएका हुन् ।

गठबन्धनको निर्णय विरुद्ध शेखर पक्षका केदार कार्की एमालेको समर्थनमा कोशीको मुख्यमन्त्री बनेसँगै केन्द्रमा गठबन्धनका नेताहरु प्रचण्ड र देउवा तिर्मिराएका थिए ।  र उनीहरुले कांग्रेस नेता कोइरालालाई एक चिर्कटोमा कबुलियतसमेत गराए ।

हतार हतार गरिएको सो चिर्कटो कबुलियतलाई लिएर एमाले नेता रिजालले श्री ३ देव शमशेर आफ्नै भाइ चन्द्र शमशेरबाट अपदस्थ हुनुभन्दा केही घण्टा अगाडि भाइ चन्द्र शमशेरले दाजु देव शमशेरको कोटको धुलो टक्टक्याएको इतिहासको एक घटनासँग तुलना गरेका छन् ।

नत्र राजकाज चलाउन एउटा व्यक्तिको चिर्कटोमा सही चाहिन्छ र ? भन्दै रिजालले सामाजिक सञ्जाल फेसबुकबाट प्रश्न समेत गरेका छन् ।

कम्तीमा दशैँ–तिहार ढुक्कले मनाउनकै लागि डायरीको चिर्कटोमा यो खालको कपाली तमसुक गरेको हुनसक्ने रिजालले बताएका छन् ।

हेर्नुहोस् सामाजिक सञ्जालमा नेता रिजालकाे भनाइ जस्तो तस्तै

सत्ता र शक्तिको संघर्षको स्वरुपमा फेरबदल आएको छ, चरित्र उस्तै छ । हिजो डा. शेखर कोइराला बालुवाटार पुगेर सत्ता जोगाउन चिर्कटोमा सही गरेको देख्दा १ सय २२ बर्ष पहिलाको इतिहासको एउटा घटना सम्झना आउँछ ।
श्री ३ देव शमशेर आफ्नै भाइ चन्द्र शमशेरबाट अपदस्थ हुनुभन्दा केही घण्टा अगाडि विहान दरबार हाइस्कुलमा एउटा कार्यक्रम थियो । कमान्डर इन चिफ रहेका चन्द्र शमशेर पनि प्रधानमन्त्री देव शमशेरसँग थिए । कार्यक्रममा सकिने बेलामा उठेर ‘दाजुको कोटमा धुलो लागेछ’ भनेर चन्द्र शमशेरले मिहिनेतपूर्वक झारेको देख्नेहरुलाई कल्पनै थिएन– त्यही राती आफ्नै दाजुलाई सेनाले घेरेर डोरीले हात–खुट्टा बाँधेर लडाउलान् र सधैँका लागि डाँडा कटाउलान् भन्ने कुरा । ‘विहान त मेरो कोटको धूलो झार्थिस्, चन्द्रे यो के गरेको ?’ भन्ने देव शमशेरको आवाज भित्तामा ठोकिएरै बिलायो । ११४ दिन श्री ३ भएर अपदस्थ भएका देव शमशेर त्यसपछि कहिल्यै नेपाल फर्केनन् । धनकुटा हुँदै दार्जिलिङ गए, त्यहाँबाट देहरादूनको मसुरीस्थित झरिपानीमा दरबार बनाएर बसे ।
कतै शेखर कोइरालाले पनि डायरीको चिर्कटोमा कपाली तमसुक गरेर चन्द्र शमशेरले देव शमशेरको कोटको धूलो झारेझैँ गरेका त होइनन् ? नत्र राजकाज चलाउन एउटा व्यक्तिको चिर्कटोमा सही चाहिन्छ र ? कम्तीमा दशैँ–तिहार ढुक्कले मनाउनकै लागि त यति गरिएको होला ।