आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

केदार कार्कीको पक्षमा बहुमत सांसदको सनाखत

शनिबार, असोज २७ २०८०

विराटनगर । कोशी प्रदेशमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरूको सनाखत सकिएको छ ।

कार्कीको पक्षमा स्पष्ट बहुमत देखिएको छ । कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ सांसदले कार्कीको पक्षमा हस्ताक्षर गरेका छन् ।

अब प्रदेश प्रमुखले कार्कीलाई संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्ने छन् ।

संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनको आह्वान भएपछि सत्ता गठबन्धनका तर्फबाट इन्द्र आङ्वो र काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्कीले मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । कार्कीलाई एमालेका ३९ प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन् ।

दुवैले दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षलाई सनाखतको समय दिएका थिए ।

बहुमत नपुग्ने भएपछि मुख्यमन्त्रीको दाबी पेश गरेका सत्ता गठबन्धनका सांसद सनाखतमै गएका छैनन् ।

कोशी प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये बहुमतका लागि ४७ सदस्य चाहिन्छ । कोशीमा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक प्रदेशसभा सदस्य छन् ।