आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कोशीमा नयाँ मुख्यमन्त्री नियुक्ति गर्न सनाखत सुरू

शनिबार, असोज २७ २०८०

विराटनगर । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया सुरू भएको छ ।

संविधानको धारा १६८ को (५) अनुसार सरकार गठनका लागि दिएको समयमा दुई जनाको दाबी परेपछि प्रदेश प्रमुखले सांसदको हस्ताक्षर सनाखतका लागि आज बोलाएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले हस्ताक्षर सनाखतका लागि आज बिहान ८ बजेदेखि २ बजेसम्मलाई समय दिएका छन् । ८ जना सांसदकाे दुवै तिर हस्ताक्षर भएका कारण उनले सशरीर हस्ताक्षर सनाखत गराउन चाहेका हुन् । हुन त विहीबारै मुख्यमन्त्रीका दाबीकर्ता केदार कार्कीसहितका कांग्रेसका ८ सांसद सशरीर प्रदेश प्रमुखकोमा उपस्थित भएर अर्का दावी कर्ताले आफ्नो हस्ताक्षर किर्ते गरेको बताएका थिए ।

कोशी प्रदेशका प्रमुख परशुराम खापुङ आफैँले दिएको समयसीमा सकिएपछि पनि हिजो मुख्यमन्त्री नियुक्ति नगरीकन त्यत्तिकै टारिदिएपछि आज नियुक्ति हुँदैछ।

कोशीमा गठबन्धनले माओवादीका इन्द्र बहादुर आङ्बोलाई अघि सारेलगत्तै कांग्रेस शेखर पक्षका केदार कार्कीले एमालेसँगको समीकरणमा कांग्रेसका ८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका थिए । उनको पक्षमा एमालेका ३९ सांसदले हस्ताक्षर गरेका छन् ।

आङ्बोले ४७ सांसदसहित बहुमत दाबी गरेका थिए । तर पुरानो हस्ताक्षर कीर्ते गरी बुझाएको भन्दै कांग्रेसका कार्कीसहित ८ जना सशरीर प्रदेश प्रमुखकोमा उपस्थित भएका थिए ।

नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न हिजो साँझ ५ बजेसम्मको समय दिएका थिए। तर, कांग्रेस माओवादी गठबन्धनको बहुमत नभएपछि मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढाएनन्। उनले बरु सूचना निकाल्दै शनिबार सांसदहरुलाई सनाखतको समय छुट्याए ।

जस अनुसार आज बिहान ८ बजेदेखि नै सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा सनाखतका लागि भेला भएका छन् ।

कोशीको कांग्रेस भित्रको विद्रोहले यता केन्द्रमा गठबन्धनमा हल्लीखल्ली मच्चिएको छ । विहिबार साँझदेखि नै गठबन्धनका शीर्ष नेता पटक पटक छलफलम जुटेका छन् । कांग्रेस इतर पक्षको अडान र निर्णयले कांग्रेस नै फुट्ने हो की भन्ने आशंका पैदा भएका छन् ।

डा. शेखर कोइराला नआएपछि शुक्रबार स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन बैठक अनिश्चित भएको छ । शुक्रबार देउवा निवासमा बसेको कार्य सम्पादनको बैठकमा पनि कोइराला उपस्थित भएनन् ।