काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कोशी प्रदेशमा मुख्यमन्त्रीका कारण नेपाली कांग्रेसमा देखिएको विवाद मिलाउन सक्रिय भएका छन् ।
राष्ट्रपतिले मुख्यमन्त्रीमा दाबी पेश गरेका कांग्रेसका केदार कार्की पक्षबाट भएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् ।
कार्कीले पार्टी निर्णयविरुद्ध कांग्रेसका शेखर समूहबाट विद्रोह गर्दै ८ जना सांसद र एमालेका ३९ सांसदको हस्ताक्षरसहित हिजो प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
कोशीमा केदार कार्की पक्षबाट भएको हस्ताक्षर फिर्ता गराउन राष्ट्रपति पौडेलले आफैंले शेखर कोइरालालाई आज बिहान फोन गरेका थिए ।
प्रत्युत्तरमा शेखरले पार्टी जोगाउनलाई यो निर्णयमा पुग्नु परेको बताउँदै आफूहरु ब्याक हुने अवस्थामा नरहेको बताएका थिए ।
कार्की गठबन्धन इतरका उम्मेदवार हुन् । कोशीमा कोइराला समूहले विद्रोह गर्दै मुख्यमन्त्रीमा दाबी पेस गरेसँगै गठबन्धनमै खैलाबैला सुरु भएको छ ।
गठबन्धनबाट माओवादी केन्द्रका माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ समक्ष कार्की र आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।
यता एमालेसहितको कांग्रेस संस्थापन इतरको दाबीले केन्द्र सरकारमा समेत असर गर्ने भन्दै राष्ट्रपतिले सुझाएको शेखर निकट एक नेताले बताए ।
यता मुख्यमन्त्री दाबीमा गठबन्धनको निर्णयविरुद्ध गएका सांसदहरूबारे निर्णय लिन कांग्रेस कोशी प्रदेश कार्य सम्पादन समितिको बैठक बोलाइएको छ ।
बैठकमा शेखर पक्षले गरेको ‘विद्रोह’ बारे छलफल हुने बताइएको छ ।
कोशीमा उपसभामुखसहित एमालेका ४० सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्वीप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्वोच्च अदालतको व्याख्या छ ।