काठमाडौं । कोशी प्रदेश प्रमुख परशुराम खापुङले एक साताभित्र सरकार गठन गर्न आह्वान गरेका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेका हुन् ।
“कोशी प्रदेशका प्रमुख परशुराम खापुङसमक्ष कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पदबाट राजीनामा दिनुभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई २०८० असोज २६ गते शुक्रबार अपराह्न ५ः०० बजेभित्र आफ्नो दाबी पेश गर्न आह्वान गर्नुभएको छ”, प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राजीनामा दिनुअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई स्थायित्व दिन अन्य दललाई सरकार गठनमा सहयोग गर्ने बताएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा पेश गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले सङ्घीयतामाथिको नकारात्मक धारणा मेट्न तथा यसलाई जीवन्त राख्न अब गठन हुने सरकारलाई आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।
कार्कीले आफ्नो दलसँग बहुमत सदस्य नभएकाले सरकार गठनका निम्ति दाबी पेश नगर्ने प्रष्ट गर्दै छोटो समयका लागि भए पनि दुईपटक सरकारको नेतृत्व गरेकाले अब अन्य राजनीतिक दललाई सहयोग गर्ने बताएका थिए ।
सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको सरकारलाई पदमुक्त गर्दै संविधानको धारा १६८ को उपधारा ३ अनुसार नयाँ मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएपछि प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता कार्की २२ भदौमा मुख्यमन्त्री बनेका थिए ।
कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । विश्वासको मत पाउने नदेपछि उनले राजीनामा दिएका हुन् ।
कार्कीको राजीनामासँगै मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनमै हानाथाप छ । गठबन्धनमा रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीका नेताहरुले नेतृत्वमा दाबी गरेका हुन् ।
कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले अब बन्ने नयाँ सरकारको मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताए। तर मुख्यमन्त्री कसलाई बनाउने भन्ने निर्णय सत्ता गठबन्धनको शीर्ष नेतृत्वले गर्ने उनको भनाइ छ। थापा कांग्रेसभित्र नेता कृष्णप्रसाद सिटौला पक्षधर हुन्। उनलाई संस्थापन पक्ष अर्थात् पार्टी सभापति शेरबहादुर देउवाले समेत साथ दिँदै आइरहेका छन्।
तर, संस्थापनइतर अर्थात् डा. शेखर कोइराला पक्षधर प्रदेशसभा सदस्य भने थापालाई मुख्यमन्त्री बनाउन नहुने पक्षमा छन्। यसअघि उनी दुईपटक मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री बन्दा र विश्वासको मत लिँदा संविधानको उल्लंघन गरेका थिए।
जसका कारण पछिल्लोपटक भदौ २१ गते सर्वोच्च अदालतले थापालाई पदमुक्त गर्दै एमाले नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। सर्वोच्चको परामादेशपछि भदौ २२ गते कार्की मुख्यमन्त्री बनेका थिए।
माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताएका छन्। यसअघि कांग्रेसको नेतृत्वमा दुईपटक सरकार बनेपनि टिक्न नसकेको बताउँदै उनले अब माओवादीको नेतृत्वमा सरकार बन्नुपर्ने उनले बताए।
प्रदेशसभा बैठकपछि शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै आङ्बोले यसअघि कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादीले धेरै त्याग गरेको स्मरण गरे।
एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् । यद्यपि गठबन्धनको निर्णय मान्ने भन्दै उनले भने, ‘गठबन्धन दलबाट सरकार बन्न ढिलो हुने अवस्था बन्यो वा गठबन्धनमै असमझदारी हुने अवस्था आयो भने अरु साथीहरुलाई समर्थन सहयोग हुनेछ ।’
यसैबीच हालसम्म कोशीमा देखिएको अस्थिरताविरुद्ध राप्रपाले पनि मुख्यमन्त्रीमा दाबी गर्नसक्ने आँकलन हुन थालेको छ । यत गठबन्धन भने राप्रपालाई सभामुख र केही मन्त्री दिएर थामथुम पारेर सरकारको नेतृत्व गर्ने दाउमा छ ।
कोशीको ९३ सदस्यीय प्रदेशसभामा एमालेका उपसभामुखबाहेक ३९, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ जना प्रदेशसभा सदस्य छन्। प्रदेशसभामा बहुमत पुर्याउन ४७ प्रदेशसभा सदस्य आवश्यक पर्छ।