काठमाडौं । सांसदहरूले चाडबाडको मुखमा महँगीले आकाश छोएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले महँगी, कालोबजारी र भ्रष्टाचारले जनताको ढाड सेक्दा सरकार भने कानमा तेल हालेर सुतिरहेको आरोप लगाएका हुन् ।
सांसदहरूले चाडबाडलक्षित सहुलियत र राहतका कार्यक्रम ल्याउनसमेत माग गरेका छन् ।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देशमा आर्थिक मन्दी लागेर उद्योगधन्दा बन्द हुने र बेरोजगारीले जनता रन्थनिएको भन्दै राहतका कार्यक्रम ल्याउन माग गर्दै भने ‘आर्थिक मन्दीले साना तथा मझौला उद्योग बन्द भएका छन् । औद्योगिक क्षेत्र हतोत्साही छ । घोर आर्थिक मन्दी र बेरोजगारीले जनता रन्थनिएका छन् । पश्चिम नेपालमा खाद्यान्नको अभाव सुनिएको छ । चाडवाडको बेला महँगीले आकाश छोएको छ, यस्तो बेला सरकार के हेरेर बसिरहेको छ ?’
नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले सरकारले बोली अनुसारको काम गर्न नसकेको प्रति व्यंग्य गर्दै भन्नुभयो, ‘सरकार जे बोल्छ, त्यसको ठिक उल्टो काम गर्छ । त्यसकारण म सरकारलाई सुझाव दिन चाहन्छु कि सरकारले मूल्यवृद्धि बढाउँछु भनोस्, त्यही अहिले आकासिएको महँगी घटिहाल्ला कि ?’
सत्तारूढ दल नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले पनि चाडवाडको मुखमा मूल्यवृद्धिले आतंक मच्याउँदा पनि सरकार के हेरेर बसेको भन्दै प्रश्न गरिन्।
नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले राजधानीकै बजारमा फैलिएको कालोबजारी नियन्त्रण गर्न सरकारले नसकेको आरोप लगाउँदै भने, ‘कालोबजारी बढेको छ, सरकारले चाँडोभन्दा चाँडो महँगी र कालोबजारी नियन्त्रणको पहल थालोस्, चाडबाडको मुखमा जनतालाई राहत दिनुप¥यो ।’ सांसद अञ्जनी श्रेष्ठले पनि सरकारले महँगी नियन्त्रणमा काम नगरेको भन्दै आलोचना गरिन् ।