पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ ।
सो अधिवेशनको उदघाटन गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पोखरा आई पुग्दैछन् ।
अध्यक्ष ओलीले माछापुच्छ्रे हिमालको तस्विर सामाजिक सञ्जालमा राख्दै भनेका छन, ‘आज पोखरा आउँदै छु ।’
पोखरा अमरसिंह चोकमा हुने अधिवेशन उदघाटन शुरु हुनुभन्दा अगाडी हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट र्याली निकालिने छ ।
सो अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएर पोखरा आइपुगेका छन् ।
बन्दसत्र भने भोलि मंगलबार पोखरा सभागृहमा हुने एमाले गण्डकीले जनाएको छ । अधिवेशनले आगामी कार्यकालका लागि प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ ।
नेतृत्व चयन सर्वसम्मतरूपमा गराउन पहल हुने र सम्भव नभएमा निर्वाचनबाट गरिने एमाले गण्डकीले जनाएको छ ।
प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्यहरु मायानाथ अधिकारी, राजीव पहारी, कृष्ण थापा, रामशरण बस्नेत, वर्तमान प्रदेश अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दबाडी, उपसचिव रश्मी आचार्यलगायतका नेताहरु आकांक्षी रहेका छन् ।