काठमाडौं । दशैँ, तिहार, छठजस्ता मुख्य चाडपर्व नजिकिएसँगै बजारमा अस्वाभाविक मूल्यवृद्धि भएको छ । गत वैशाखयता खाद्यान्नमा हप्तैपच्छिे र तरकारीमा दैनिक मूल्यवृद्धि भइरहेको छ । चर्को मूल्यवृद्धि भएसँगै सर्वसाधारणलाई जीविकोपार्जनमा समस्या हुन थालेको छ ।
विशेषगरी दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरू महँगीको मारमा परेका छन् । उनीहरूसँगै आर्थिक मन्दीको चपेटामा परेका जनता खाद्यान्न तथा तरकारीमा हुने दैनिक मूल्यवृद्धिले हैरान बनेका छन् ।
सरकारकै मिलोमतोमा बजारमा दैनिक उपभोगीय वस्तुमा मूल्यवृद्धि भएको उपभोक्तावादी संस्थाहरूले आरोप लगाएका छन् । ग्यास र पेट्रोलियम पदार्थमा भाउ बढ्नु पहिले नै अरू दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।
सरकारकै वरिपरि बसेका व्यापारीकै कारण महँगीले बिहान बेलुका छाक टार्नै मुस्किल हुन थालेको छ। मूल्यवृद्धिको चर्को आलोचना भइरहे पनि नियन्त्रणमा सरकारले चासो दिएको छैन । महँगी यसरी बढिरहे पनि सरकार मौन छ । बजारमा भइरहेको कालोबजारी र कृत्रिम अभाव हटाउन सरकारले प्रयास नै गरेको छैन । दैनिक बजार अनुगमन भइरहेको भनिए पनि त्यो प्रभावकारी देखिएको छैन । बजार अनुगमनले मूल्यवृद्धिलाई नियन्त्रण गर्न सकेको छैन । समस्या सरकारमै छ ।
डिजल र पेट्रोलको भाउ थप बढेपछि यात्रा र ढुवानी खर्च पनि बढ्ने भएकाले उपभोक्ता अझै मारमा पर्ने उनको भनाइ छ । पछिल्लो समय सत्ता परिवर्तन भएपिच्छे महँगी बढ्ने गरेको छ । महँगीबाट आएको कमिसन सरकारमा बसेको व्यक्तिहरूले खाने गरेका छन् ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि २४ घण्टा नबित्दै फिर्ता लिएको छ । चाडबाडको मुखमा खाना पकाउने ग्याससहित पेट्रोल र डिजेलमा अस्वाभाविक मूल्यवृद्धि गरेको निगमले २४ घण्टा नबित्दै निर्णय सच्याएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा पुरानै मूल्य कायम गर्नेगरी मूल्यवृद्धि फिर्ता लिइएको निगमले जनाएको छ । मूल्यवृद्धि फिर्तासँगै अब पुरानै भाउ अर्थात् २९ भदौ रातिबाट लागू भए अनुसारको मूल्यमा पेट्रोलियम पदार्थको बिक्री(वितरण हुने निगमले जनाएको छ । यसअघि निगमले शनिबारदेखि लागू हुनेगरी खाना पकाउने ग्यास, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको थियो । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ११० रुपैयाँ पु-याइएको थियो ।
यस्तै, पेट्रोल लिटरमा दुई रुपैयाँ, डिजल र मट्टीतेलमा ६ रुपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर आठ रुपैयाँ बढाइएको थियो । सरकारले गत वैशाखयता ग्यास, पेट्रोल र मट्टीतेले मूल्य ६ पटक बढाएको थियो ।
नेपाली भान्सामा बढी खपत हुने चामल, दाल, गेडागुडीलगायत अन्य अधिकांश खाद्यान्नको हरेक वर्ष मूल्यवृद्धि भइरहेको छ । भदौ महिनाको तुलनामा असोजमा सबै प्रकारको चालम प्रतिबेहोरा २५० रुपैयाँसम्म बजार भाउ बढेको छ ।
यस्तै, दाल, गेडागुडीलगायत समानमा समेत प्रतिकेजी २० देखि २५ रुपैयाँसम्म बढेको छ । पछिल्लो समय खाद्यान्नका सबै परिकारमा समेत ३० प्रतिशतभन्दा महँगी बढेको छ । वैशाखयता खाद्यान्नमा पनि ४० प्रतिशत मूल्यवृद्धि भएको विभिन्न मन्त्रालयको अध्ययनमा औँल्याइएको छ ।
सरकारी तथ्यांकलाई नै हेर्दा जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएको उपभोग्य बस्तुको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको देखिन्छ । सरकारी संयन्त्रको कमजोरीका कारण बिचौलियाहरू मोटाउने जनता दुब्लाउने अवस्था सिर्जना भएको उपभोक्ताको आरोप छ ।