काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई जसरी पनि हटाउनुपर्ने बताउनुभएको छ ।
गुरू लुइँटेल स्मृति पार्कको आइतबार ओखलढुंगामा उद्घाटन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारले जनतालाई नहेरेकाले यसलाई सरकारलाई हटाउनुपर्ने बताए । उनले भने, ‘अहिलेको यो सरकार बसिरहनुहुन्न, यस्तो सरकार बसिरहन हुन्छ ? तपाइँहरू भन्नुस् त यस्तो सरकार राख्न हुन्छ ? तपाइँ-हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि यसलाई टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो ।,
अहिलेको सरकार नालायक भएको र जनतालाई हेर्दै नहेरेको अध्यक्ष ओलीले बताए। उनले भने ‘यति नालायक सरकार जनता हेर्दैन, सुनतिर हेर्छ, ब्रेक सु ल्याउँछ सुन, सिगरेट ल्याउँछ सुन, पानी तान्ने मोटर ल्याउँछ सुन, स्याउ ल्याउँछ सुन, बुढाबुढीले आशीर्वाद दिनुहुन्थ्यो – माटो छुँदा अन्नै होस् ढुंगा छुँदा द्रव्य होस् भनेर, अहिले त जे छोयो त्यही सुन, माओवादी नेतृत्वको सरकार, क्रान्तिकारी र परिवर्तनकारी नेतृत्वको सरकार, कस्तो भ्रष्टाचारी र तस्करी ।’
सरकारले नै हिंसा मच्याएको र देशमा हिंसा भड्किँदा पनि सरकार कानमा तेल हालेर बसेको अध्यक्ष ओलीले बताए। उनले भने, ‘हिंसा मच्याएको छ, मलंगवामा कर्फ्यु छ, साम्प्रदायिक बिद्वेष भड्काइएको छ, विभिन्न तत्वहरुको घुसपेठ भइराखेको छ, सरकार देखेर नदेखेजस्तै गरेको छ, कानमा तेल हालेर बसेको छ, देशमा हिंसा भत्काउने प्रयास भइरहेको छ, नेपाली जनतामा मारामार लगाउने काम भइराखेको छ, सरकार हेरेर बसेको छ ।’
जैविक र जातीय तथा सांस्कृतिक विविधता भएको देशलाई बिथोल्ने प्रयास भइरहेको अध्यक्ष ओलीले बताए। उनले कुनैपनि भड्काउमा नलाग्न, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैलाई आव्हान गरे ।
देशमा सुशासन र विकासका लागि अग्रसर हुने पनि अध्यक्ष ओलीले सबैलाई आग्रह गरे ।
शिक्षक गुरु लुइटेललाई तत्कालीन माओबादीले यातना सहित झुन्डयाएर मारिएको थियो । २०६० सालमा माओबादीले अपहरण गरि लुइटेललाई झुन्ड्याएर मारिएकोे थियो । अपहरण पश्चात २०६० साल असोज ७ गते विहान बरको रुखमा झुन्ड्याईएको अवस्थामा फेला पारेको पारिवारीक श्रोतले जनाएका छन् ।