शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज प्रचण्ड न्यूयोर्क र बाबुराम भारत जाँदै

शनिबार, भाद्र ३० २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गर्ने भएका छन् ।

आजै नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि एक साता लामो भ्रमणका क्रममा आजै भारत जाँदैछन् ।

नेसपाको प्रवास कमिटीको निमन्त्रणामा भट्टराई आज भारत प्रस्थान गर्न लागेका हुन् ।

भट्टराईको सचिवालयका अनुसार भारत भ्रमणको क्रममा त्यहाँ रहेका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

भारतका मुख्य सहरहरू गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा आयोजित कार्यक्रममा सहभागी भएर उनी अब असोज ५ गते मात्रै स्वदेश फर्कने छन्।

यता प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व समूदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य व्यक्त गर्नेछन्। आगामी आसोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी छन् ।