काठमाडौं । सरकारमा आवद्ध तीन दलसहित चार दल सम्मिलित समाजवादी मोर्चाले सोमबार मोरङको विराटनगरमा सन्देश सभा आयोजना गर्दैछ ।
सातै प्रदेशमा सभा गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार मोर्चाले सोमबार कोशी प्रदेशको राजधानी विराटनगरमा सन्देश सभा गर्न लागेको हो ।
मध्यान्ह हुने सन्देश सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
मोर्चाले यसअघि मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा सन्देश सभा गरिसकेको छ । मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा आद्ध छन् ।
मोर्चा भित्रै विवाद भएपछि कोशी प्रदेशको नामै नलेखी विराटनगरमा समाजवादी मोर्चाले सन्देश सभा गर्ने भएको छ ।
मोर्चामा रहेका जसपा, एकीकृत समाजवादी, माओवादीभित्र नै कोशी लेख्ने नलेख्ने विषयमा विवाद भएपछि कोशी नलेखी कार्यक्रम गर्ने तयारी भएको हो। आज हुने कार्यक्रममा सन्देश सभाको ब्यानरमा कोशी लेखिएको छैन ।
विराटनगरस्थित मनास्लु होटलमा हुने कार्यक्रमको कुनै ब्यानर र प्रचार सामाग्रीमा समेत कोशी लेखिएको छैन ।
माेर्चाले सुदूरपश्चिम प्रदेशबाहेक अन्य सबै प्रदेशमा सन्देशसभा सम्पन्न गरिसकेकाे छ।
मोर्चाले यसअघि मधेश, लुम्बिनी, कर्णाली, गण्डकी र बागमती प्रदेशमा सन्देश सभा गरिसकेको छ। त्यो बेला भने उसले प्रदेशको नाम लेखेको थियो ।