शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कोशीमा बजेट शून्यता अन्त्य, प्रदेश प्रमुखद्वारा अध्यादेश जारी

आइतबार, भाद्र २४ २०८०

विराटनगर । कोशी प्रदेश सरकारले बजेट विनियोजन अध्यादेश ल्याएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा कोशी प्रदेश प्रमुख परशुराम खापुङले आज बिहान आर्थिक अध्यादेश र प्रदेश विनियोजन अध्यादेश जारी गरेका हुन्।

बजेट शून्यताको अन्त्य गर्न प्रदेश आर्थिक अध्यादेश र विनियोजन अध्यादेश २०८० जारी भएको हो। परमादेशबाट मुख्यमन्त्रीमा नियुक्ति भएका हिक्मतकुमार कार्कीले ‘बजेट होलिडे’ हटाउन अध्यादेश सिफारिस गरेका थिए। प्रदेश सरकारको शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्ने निर्णय गरेको थियो।

यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो ।

अध्यादेश निष्क्रिय भएका कारण प्रदेशमा बजेट शून्यको अवस्था थियो । पुन: अध्यादेश जारीएसँगै बजेट शून्यको अवस्था सकिएको छ ।

सर्वोच्चको परमादेशसँगै पुनस् नियुक्त भएका मुख्यमन्त्री कार्की नेतृत्वको सरकारको पहिलो क्याविनेटले बजेट शून्यता अन्त्यका लागि आर्थिक अध्यादेश-२०८० र प्रदेश विनियोजन अध्यादेश-२०८० जारी गर्ने निर्णय गरेको थियो ।

सरकारले क्षेत्रगत नीति तथा कार्यक्रमहरू कार्यान्वयनको लागि बजेट विनियोजन र स्रोत व्यवस्थापनका लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो। चालू खर्चतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगत खर्चतर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार रुपैयाँ विनियोजन भएको थियो।