काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन उल्टिने खतरा रहेको बताएका छन् ।
पार्टीको जनतासँग माओवादी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नयाँ क्रान्ति नथाल्ने हो भने परिवर्तन उल्टिएर देश दुर्घटनामा पर्ने खतरा देखिएकाले आफूले प्रधानमन्त्रीको रूपमा माओवादीलाई मजबुत पार्न खोजेको बताए ।
उनले भने, ‘परिवर्तन उल्टिने मात्रै होइन, त्यसो भए तपाईं हामी सबै नै कुनै न कुनै रुपले त्यो दुर्घटनाको शिकार हुने खतरा छ । हाम्रो शक्ति मजबुत भएन भने अलिकति कमजोर देखिने बित्तिकै प्रतिक्रियावादीले के के गर्छन् भन्ने तपाई हामीले भोगिसकेका छाँै । पहिले नै हाम्रो टाउकोमा थुप्रै मुद्दा त छँदैछन् युद्धकालका मुद्दाहरु, मेरै ३६ वटा जति छन् । अझै शान्ति प्रक्रियाका बाँकी काम नटुंगिएसम्म कहीँ न कहीँ रही राखेका छन् । म प्रधानमन्त्री भएर राम्रो काम शुरु गर्न थालेपछि दुई वटा मुद्दा परेका छन् । त्यो पनि देखिरहनुभएको छ । हामी एक हुने र अघि बढ्ने भएपछि थाँती छन् । हामी शक्तिशाली भएपछि यी केही हुँदैन, हामी जित्दै जान्छौँ, कसैको केही लाग्दैन । हामी कमजोर हुँदै गए आक्रमण बढ्दै जान्छन् । हामीले यो पटक यो रुपान्तरण अभियानलाई हर हालतमा सफल पार्नैपर्छ ।’
देश दुर्घटनामा पर्ने, परिवर्तन उल्टिने खतरा भएको बताउँदै उनले आफ्नो शक्ति कमजोर भएको अवस्थामा प्रतिक्रियावादीहरुले आफूहरुमाथि आक्रमण गर्नसक्ने समेत बताए ।
प्रधानमन्त्रीले भने, ‘माओवादी कमजोर हुने बित्तिकै प्रतिक्रियावादीहरुले के के गर्छन् तपाईँहरूले देखिरहनुभएको छ । हामीमाथि सयौँ मुद्दाहरू छन् । ममाथि मात्रै ३६ वटा मुद्दा छन्,हिजो आज मात्र २ वटा मुद्दा हालेका छन्,हामी फेरि एकजुट भयौँ भनेपछि अहिले ती थाती छन् ।’
प्रधानमन्त्री प्रचण्डले बाँकी तीन महिनामा आफ्नो शक्ति मजबुद बनाउँदै जाने समेत बताए । तीन महिना भित्र विधान सम्मेलन गर्ने र अर्को तीन महिनासम्ममा आफ्नो शक्ति अझ बजबुद हुने उनले बताए ।
सरकारको कामकारबाहीले जनतामा भरोसा सञ्चार हुँदै गएको बताउँदै उनले प्रतिक्रियावादी, अवसरवादीहरु र अतिवादीहरु अलिबढी विक्षिप्त भएको बताए । जसका कारण सरकारलाई बद्नाम गर्न अनेक षड्यन्त्र भइरहेको उनले बताए ।
उनले भने, ‘माओवादी हौँ भन्न पनि कता कथा अप्ठेरो मान्ने अनि हाम्रा दुश्मन परिवर्तनका विरोधीहरूले हुंकार गर्ने अवस्थाको अन्त गर्न नयाँ जनयुद्धको सुरुआत गरेको छु । यो जनयुद्धमा हिंसा हुँदैन,हतियारको प्रयोग हुँदैन तर यो जनयुद्ध नै हो । यसको सुरुआत लिडरशीपबाटै हुनुपर्यो भनेर गरिएको छ । यसले लाखौँ करोडौँ जनताको मत जित्ने पनि छ ।’
आफ्नो नेतृत्वको सरकारले अर्थतन्त्रमा सुधारको धेरै प्रयास गरेको भएपनि अर्थतन्त्र चलायमान भइनसकेको र सरकारको नीतिप्रति व्यवसायीहरु ढुक्क भइनसकेको उनको भनाइ थियो ।