विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बस्ने भनिएको प्रदेश सभाको बैठक अनिश्चित बनेको छ।
उपसभामुख सिर्जना दनुवारले आफू अचानक बिरामी भएको र प्रदेश सभामा उपस्थित हुन नसक्ने भन्दै जानकारी गराउँदै इस्राइल मन्सुरीलाई सभा सञ्चालन गर्न जिम्मेवारी तोकेकी छन् ।
आइतबार उपसभामुख दनुवारले सभा सञ्चालनको जिम्मेवारी दिएको पत्र सोमबार बिहान संसद सचिवालयमा दर्ता भएको छ।
प्रदेश सभाकी उपसभामुख दनुवार बिरामी बिदामा विराटनगरबाट काठमाडौं उडेकी छन्। उनी सोमबार बिहान ८ बजे विराटनगरबाट यति एयरलाइन्सको विमानमा काठमाडौं लागेकी हुन् ।
सभामुखले राजीनामा दिइसकेको अवस्था छ । उपसभामुख अनुपस्थित भएको अवस्थामा आजको बैठक संचालन गर्ने जिम्मेवारी अध्यक्ष मण्डलमाथि जान्छ ।
अध्यक्ष मण्डलकी ज्येष्ठ सदस्य एमालेकी मालती सुब्बाले यसअघि नै आफू आजको बैठकमा उपस्थित हुन नसक्ने सूचना दिइसकेकी छिन् । सुब्बापछिका ज्येष्ठ सदस्य राप्रपाका अम्बरबहादुर बिष्टले पनि उपस्थित हुन नसक्ने सूचना दिइसकेका छन् । अध्यक्ष मण्डलका ज्येष्ठ सदस्यहरु सुुब्बा र बिष्ट बैठकमा उपस्थित हुन नसक्ने भएपछि उपसभामुख दनुवारले कांग्रेसका इस्राइल मन्सुरीलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी हस्तान्तरण गरेकी छिन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ। मुख्यमन्त्री थापाको नेतृत्वमा रहेको सरकारलाई नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ। विपक्षमा एमालेका ३९ (उपसभामुख बाहेक) र राप्रपाका ६ जना सांसद छन्।
यता नेकपा एमाले र राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा छन्। सोहीअनुसार दुवै दलले ज्येष्ठ सदस्यलाई संसद्मा उपस्थित नहुन निर्देशन दिएको स्रोत बताउँछ।
सोमबारको बैठकमा एमालेका सात र राप्रपाका एक जना सांसदले उपस्थित हुन नसक्ने भन्दै उपसभामुखलाई सम्बोधन गरेर निवेदन दिएको संसद् सचिवालयले जनाएको छ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। सत्तारुढ गठबन्धनसँग ४७ मत मात्र छ।
मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्ताव फेल गराउन नेकपा एमालेको रणनीतिअन्तर्गत उपसभामुख काठमाडौं उडेको विराटनगरमा चर्चा छ।
तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर मुख्यमन्त्री बनेका थापालाई विश्वासको मत पाउन उपसभामुख दनुवार वा प्रतिपक्षी दल एमाले र राप्रपा सांसदले बैठकको अध्यक्षता गर्नुपर्ने हुन्छ। सत्ता गठबन्धनकै सांसदले बैठकको अध्यक्षता गरे विश्वासको मत पाउँदैनन्।