शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कोशी प्रदेश : मुख्यमन्त्री थापाको चतुर्याइँ सत्ता संकटबाट जोगिन ज्येष्ठ सदस्य मण्डललाई कृषि राज्यमन्त्री

बुधबार, साउन ३१ २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले चतुर्याइँ गरेका छन् । सत्ता संकटबाट जोगिन उनले प्रदेशसभामा ज्येष्ठ सदस्य गयानन्द मण्डललाई कृषि राज्यमन्त्री बनाएका छन् ।

एमालेबाट उपसभामुख सिर्जना दनुवारले संसद् बैठक बहिष्कार गर्ने वा राजीनामा दिएमा सभाको सञ्चालन जेष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्थाबाट बच्न थापाले मण्डललाई राज्यमन्त्री नियुक्त गरेका हुन्।

आजै गयानन्द मण्डलले कोशी प्रदेश सरकारको राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष मण्डलले कृषि राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका उनलाई मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख खापुङ्गले राज्यमन्त्री नियुक्त गरेका हुन् ।

कोशीमा सत्तारुढ गठबन्धनले आफ्ना सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर आफ्नो पक्षमा बहुमत जुटाएको थियो।

बहुमत जुटाएर सरकार गठन भएको भए पनि यो सरकारले विश्वासको मत लिन बाँकी छ।

कोशी प्रदेशसभाको बैठक भदौ १ गतेदेखि बोलाइएको छ।