काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आइतबार स्वदेश फर्कदैछन्।
चर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले हालै पिरामिडको माथिल्लो तहसम्म छानबिन गर्न आदेश दिएलगतै उनी फर्कन लागेका हुन्।
ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले पिरामिडको उपल्लो तहमा पनि छानबिन गर्नू भनी आदेश दिएको भोलिपल्ट नै उनी स्वीटजरल्याण्ड भम्रणमा निस्किएका थिए । त्यसबेला सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा नेपाल जानकार रहेको उनको सचिवालयले बताएको थियो ।
उनको भ्रमणलाई लिएर यति बेला विभिन्न टिकाटिप्पणी समेत भइरहेको छ ।
युरोप भ्रमण छोट्ट्याउनै आइतबार नेपाल फर्कने उनको सचिवालयले जनाएको छ।
स्वीट्जरल्यान्डबाट दुई दिनअघि स्पेन पुगेका उनी म्याड्रिडस्थित नेपाली दूतावासमा छन्। आइतबार म्याड्रिडबाट कतार एयरलाइन्स हुँदै काठमाडौं फर्कनेछन्।
पूर्वप्रधानमन्त्री नेपालको यसअघि भदौ १ गते स्वदेश फर्किने कार्यक्रम थियो।
यसै बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिने विषयमा छलफल र तयारी थालेको छ।
नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यबीच यस विषयमा छलफल भएको हो। ‘ललिता निवासको जग्गा सम्बन्धमा मन्त्रिपरिषद्ले गरेका निर्णय र तत्कालीन मन्त्रिपरिषद्को नेतृत्व गरेका प्रधानमन्त्रीहरूसँग बयान लिने विषयमा माथिल्लो तहमा छलफल चलिरहेको छ’, सिआइबी स्रोतले भन्यो।