काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा आउने भएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुर्नगठन गर्ने भएका छन् ।
प्रचण्ड नेतृत्वको सरकार २५ सदस्यीय पुगिसकेको छ । संविधानअनुसार अब मन्त्री थप्न पाइँदैन । त्यसकारण सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि माओवादी केन्द्रका एकजना मन्त्री घर फर्किने भएका छन् ।
उनले माओवादीका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीमध्ये एकलाई हटाउने तयारी प्रधानमन्त्रीको तयारी छ । मोदी र किराँती दुवैको कार्यशैलीप्रति प्रधानमन्त्री प्रचण्ड सुरुदेखि नै सन्तुष्ट नरहेको स्रोतको भनाइ छ ।
मन्त्री मोदीमाथि कर्मचारी सरुवामा चलखेल गर्ने गरेको आरोपसमेत माओवादी भित्रबाटै लाग्दै आएकाले प्रधानमन्त्री प्रचण्ड मोदीलाई फिर्ता बोलाउने तयारीमा रहेको बालुवाटार स्रोतको भनाइ छ । १० पुसमा प्रधानमन्त्री भएका प्रचण्डले अहिलेसम्म पटकपटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् । प्रचण्ड नेतृत्वको सरकारमा यसअघि एमाले, रास्वपा, राप्रपा पनि थिए । तर, राष्ट्रपति निर्वाचनपछि फेरिएको समीकरणमा कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपासहितका दल सरकारमा सहभागी छन् । पुरानाले छोड्ने र नयाँ दल भित्रिँदा प्रधानमन्त्रीले पटक–पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै आएका छन् ।
हुनत यस अघि पनि जनमतबाटअब्दुल खान मन्त्री बनेका थिए । उनले १७ चैतमा राजीनामा दिएका थिए। खानेपानी मन्त्रालयमा चित्त नबुझेर गत १७ चैतमा प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएको जनमत पार्टी फेरि सरकारमा सहभागी हुँदै छ । सिके राउत नेतृत्वको जनमत पार्टी एकदुई दिनभित्रै सरकारमा सहभागी हुने भएको हो । गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरे पनि नदिइएपछि चैतमा बाहिरिएको थियो ।
सत्तारूढ गठबन्धनबीच हाल माओवादी केन्द्रले सम्हालेको कोटाबाट जनमतलाई मन्त्री बनाउने सहमति असार अन्तिम साता नै भएको थियो । माओवादीबाट हाल ६ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी छन् । जनमत पार्टीले मन्त्रीमा सांसद अनितादेवी साहको नाम २६ असारमै प्रधानमन्त्री प्रचण्डलाई बुझाएको थियो ।