शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

बिहिबार, साउन १८ २०८०

काठमाडौं – रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित सडकमा शिवनगरबाट खेसरहियातर्फ जाँदै गरेको ना.६३ प ९७३५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय राजकपुर राय यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

उदयपुरको चौदण्डीगडी नगरपालिका–६ खत्री टोलमा मदनभण्डारी लोक राजमार्गबाट खत्री टोलतर्फ जाँदै गरेको प्र.१०५००१ प ८५०५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–७ हाङबजार बस्ने २३ वर्षीय दिपसन मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

धादिङको थाक्रे गाउँपालिका–२ सिमस्थित सडकमा मालडुङबाट महादेववेशीतर्फ जाँदै गरेको प्र.२–०३–००१ त ४३१९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–३ मालडुङ बस्ने ६० वर्षीय रामप्रसाद अर्यालको मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।