विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्यले सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई रोकेर आफैं मन्त्री बन्ने अड्डी कसेपछि कोशी प्रदेशमा माओवादीभित्र विवाद बढेको छ । साथै आज विहान तय भएको मुख्यमन्त्री सहित केही मन्त्रीको शपथग्रहण पनि सरेको छ ।
आज विहान १० बजेका लागि तय भएको शपथ बेलुका ५ बजेसम्मका लागि स्थगित भएको कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आन्तरिक तयारी नपुगेको भन्दै शपथग्रहण सरेको जनाएको छ । आन्तरिक तयारी नपुगेर शपथ सरेको भनिएतापनी प्रमुख सत्तारुढ घटक दल नेकपा माओवादी केन्द्रमा मन्त्री छान्ने विषयमा विवाद भएपछि शपथ सरेको उच्च स्रोतले जनाएको छ ।
यसअघि सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने माओवादीले निर्णय नै गरेको थियो । उद्धव थापा नेतृत्वको सरकारमा उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी थियो । तर आज बिहानको शपथग्रहणको समय भन्दा केहीछिन अघिमात्र जीवन आचार्यले पनि मन्त्री दाबी गरेपछि माओवादीको आन्तरिक विवादका कारण शपथ रोकिएको एक नेताले बताए ।
मुख्यमन्त्री थापालाई बहुमत पुर्याउन सभामुख पद त्यागेर राजनीतिलाई दाउमा लगाएका गौतमलाई माओवादी केन्द्रले राजेको मन्त्रालय दिएर मन्त्री बनाउने आश्वासनसहित सभामुखबाट राजीनामा दिन लगाएको थियो ।
मन्त्री बन्ने आशासहित सभामुख त्यागेका गौतमलाई मन्त्री बन्न नदिन उनकै दलका केही सांसद लागेपछि माओवादी केन्द्रमा विवाद सिर्जना भएको छ ।