कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले सभामुखबाट राजीनामा दिएका छन् । सरकार गठनका लागि दाबी गर्न आवश्यक संख्या नपुग्ने भएपछि मंगलबार दिउँसो कोशी प्रदेशसभाका सभामुख गौतमले सभामुख पदबाट राजीनामा दिएका हुन् । सभामुख गौतमले सुरुमा इमेलमार्फत उपसभामुखलाई राजीनामा पठाएका थिए ।
पछि कार्यालयमै उपस्थित भएर गौतमले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर पदबाट राजीनामा दिएका हुन् ।
गौतम ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र २ बाट प्रदेशसभामा निर्वाचित भएका हुन् । नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेशसभामा निर्वाचित भएका उनी २०७९ पुस २९ गते सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए ।
सभामुखबाट गौतमले राजीनामा दिएसँगै कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका तर्फबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने भएका छन् । त्यसका लागि चार वटै दलका प्रदेशसभा सदस्यहरूको हस्ताक्षर गराइएको छ ।
यसअघि सभामुख गौतमले कांग्रेस संसदीय दलका नेता थापाले मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा हस्ताक्षर गरेपछि विवाद भएको थियो । सभामुखले कानुनी रूपमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा समर्थन गर्न नमिल्ने भन्दै एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।