शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कोशी प्रदेश

नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सभामुखलाई राजीनामा गराउने गठबन्धनको तयारी

मंगलबार, साउन १६ २०८०

बिराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दावी पेश गर्ने आज अन्तिम दिन हो ।

सर्वोच्च अदालतले यसअघि गठन गरेको नेपाली कांग्रेसको सरकारलाई अबैधानिक करार गरिदिए पछि पुनः आब्हान भए अनुसार आज समयसिमा सकिदैँछ ।

प्रदेश प्रमुख परशुराम खापुङका अनुसार संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिने लागेको हो ।

यसअघि सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका थापाको नियुक्ती सर्वोच्च अदालतले बदर गरिदिएपछि कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । जसअनुसार आज नयाँ सरकारका लागि दाबी पेश गरिसक्नु पर्ने हुन्छ ।

कोशी प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनसँग सभामुख बाहेक ४६ सांसद छन् भने सत्तारुढ इत्तर रहेका नेकपा एमालेसँग ४० तथा राप्रपासँग ६ जना सांसद रहेका छन् । सरकार बनाउन ४७ मत आवश्यक पर्ने भए पछि कोशी सरकार गठनमा समस्या देखा परेको छ ।

यता सत्तारुढ गठबन्धनले कोशी प्रदेशमा बहुमत पुर्‍याउनका लागि सभामुख बाबुराम गौतमलाई राजीनामा गराउने तयारी भइरहेको छ ।

सभामुखबिना कोशी प्रदेशमा सत्ता गठबन्धनलाई बहुमत पुर्‍याउन समस्या भएपछि सभामुखलाई राजीनामा दिन लगाउने तयारी भएको हो । सभामुख बाबुराम गौतम माओवादीबाट सभामुख भएका हुन् ।

गत असार २१ गते पनि थापाको नेतृत्वमा सरकार गठन भएको थियो । सभामुखको छुट्टै हस्ताक्षर प्रयोग गरेर सरकारमा दाबी पेश गरेपछि सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्तिको बदर गर्दै नयाँ सरकार गठन गर्न परमादेश दिएको थियो ।

परमादेशपछि सभामुखलाई राजीनामा गराएर गठबन्धनले सरकारमा दाबी पेश गर्न लागेको हो ।