शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

क्विन्टल सुन तस्करी प्रकरण

नेताहरुसँग सुन तस्करका आराेपीकाे तस्वीर सेयर गर्दै महेश बस्नेतले भने : कनेक्सन सत्ताधारी दलकै नेताहरुसँग देखियो

सोमबार, साउन १५ २०८०

काठमाडौ । एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका पक्राउ परेका र फरार रहेका आरोपीहरुको कनेक्सन   माओवादी केन्द्र / नेपाली कांग्रेसका नेताहरूसँग देखिएको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत नेता बस्नेतले सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुको कनेक्सन सत्ताधारी दलका नेताहरुसँगै देखिएको बताएका हुन् । गृहमन्त्रीले जुनसुकै दलका भएपनी कारवाही गर्ने भनेकाे उल्लेख गर्दै बस्नेतले लेखेका छन्,  ‘माछा देखे दुला भित्र हात , सर्प देखे दुला बाहिर हात नहोस् ।’

आइतबार पक्राउ परेका होटेल भियनाका सञ्चालक दावा छिरिङको माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा, उपमहासचिव वर्षमान पुन, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग रहेको उनले बताएका छन् । छिरिङ चिनियाँ मुलका बेल्जियमका नागरिक हुन्।

सुन तस्करीको आरोपमा ठमेलबाट पक्राउ परेका दावा छिरिङ्ग चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्राएर कारोबार गराउने एजेन्ट भएको बस्नेतकाे दाबी छ ।
‘उनको कनेक्सन माओवादी केन्द्रका नेताहरूसँग देखिएको छ । विगतमा दावा छिरिङ्गको सम्पर्क माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा, उपमहासचिव वर्षमान पुन, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग देखिएको छ।’ नेता बस्नेतले लेखेका छन् ।

अहिलेका सत्ताधारी दलका नेताहरुसँग दावा छिरिङ्गले खिचेको पहिलेका तस्वीरहरु शेयर गर्दै यस अघि एक क्विन्टल सुन भित्राउने फरार तस्कर राकेश अडौकियाको संलग्नता नेपाली कांग्रेसका नेताहरु राष्ट्रपति रामचन्द्र पौडेल, सुशिल कोइराला , अहिलेका अर्थमन्त्रीका दाजु रामशरण महतसंग देखिएको बस्नेतले आराेप लगाएका छन् ।

राजस्व अनुसन्धान विभागका अधिकृतहरूले दुबै जनाको सुन तस्करीमा संलग्न भएको यथेष्ट प्रमाणहरू फेला परेकाले पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिएको बताउँदै नेता बस्नेतले भनेका छन्, ‘सत्ताधारी दल नेपाली कांग्रेस र माओबादीका नेताहरु के कति कारणले राकेश र दावाको सम्पर्कमा पुगे भन्ने पनि अनुसन्धान गर्नुपर्ने देखिन्छ । भन्नत गृहमन्त्री ज्युले जुनसुकै दलको संलग्नता भएपनि कारबाही गर्छु भन्नु भएको छ । उहाँकै दल माओवादी केन्द्र र कांग्रेसकै नेताहरूको संलग्नता देखिएकाले अनुसन्धान अवरुद्ध नहोस् ।माछा देखे दुला भित्र हात , सर्प देखे दुला बाहिर हात नहोस ।’

तस्वीर : महेश बस्नेतको फेसबुकबाट