काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन बानेश्वरमा बिहान ११ बजे बस्नेछ । तर आजको राष्ट्रिय सभा बैठक अवरुद्ध हुने देखिएको छ ।
हिजो दिउँसो बसेको प्रतिनिधि सभा बैठक अवरुद्ध भएपछि स्थगित भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नताविना सुन तस्करी सम्भव नभएको भन्दै बैठक अवरुद्ध गरेको थियो ।
एमालेले गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन गरेर अनुसन्धान गर्नुपर्नें अडान लिएको छ ।
हिजोको संसद बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सभामुखले रूलिङ गर्नुपर्ने र समिति गठनको सुनिश्चितता नभएसम्म संसद चल्न नसक्ने जानकारी गराएका थिए ।
हिजोकै बैठकमा प्रमुख सत्ता घटक नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले पदबाट राजीनामा दिनुपर्ने बताए । शर्माले सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए । उनले गृहमन्त्री र अर्थमन्त्रीले मुख्य नाइकेलाई नसमाते सदनभित्रै आमरण अनसन बस्ने घोषणा गरे ।
संसद अवरोधपछि सभामुख देवराज घिमिरेले साउन १५ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।
एमालेले आजको राष्ट्रिय सभा बैठक पनि अवरुद्ध गर्ने तयारी गरेको छ । एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक क्विन्टल बढि तस्करीको सुन बरामद भएको प्रकरणमा बैठक अवरुद्ध गर्न लागेको हो ।
हिजो बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको एमालेको संसदीय दलको बैठकले गृहमन्त्री श्रेष्ठले राजीनामा नदिएसम्म संसद चल्न नदिने निर्णय गरेको थियो ।
एमालेले सरकारका मन्त्री र सरकारमै रहेका दलका नेताहरूको संलग्नताविना भन्सारबाट सुन पास गर्न असम्भव हुने भन्दै निष्पक्ष छानविनको माग गरेको छ ।