शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

खाँणलाई कारबाही गर्नुपर्ने कांग्रेस संस्थापन इतरपक्षको माग

बुधबार, साउन १० २०८०

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतरपक्षका नेताहरुले केन्द्रिय सदस्य बालकृष्ण खाँणलाई कारबाही गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

मंगलवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली काँग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण आफ्नै कर्मका कारण भ्रष्टाचार मुद्दामा मुछिएको बताए । काँग्रेस नेता गुरुराज घिमिरेले आफ्नै कर्मका कारण मुद्दा लागेको भन्दै खाँणलाई दुःख नपरेको उल्लेख गरे । दोषि भएमा खाँणलाई कारबाही गर्नुपर्ने उनको भनाई छ ।

उनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभा जस्तो भएको बताए । उनले महाराजको इशारा जता हुन्छ उतैतिर आवाज आएजस्तै पार्टी सभापतिले इशारा गरे अनुरुप बोल्ने गरिएको समेत बताए । उनले पार्टी केन्द्रिय कार्य समिति भारदारी सभा नभएको भन्दै चेतावनी पनि दिए ।

यस्तौ केन्द्रिय सदस्य एवं सांसद डा.चन्द्रकान्त भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरु सामुहिक रुपमा अगाडी बढ्नुपर्ने बताए ।

उनले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरुले लिनुपर्ने बताए । उनले उपसभापति र महामन्त्रीहरुका बीचमा बैठक राख्ने र एजेण्डा तय गरेर सँगै हिँड्न आग्रह पनि गरे । उनले केन्द्रिय समितिमा संस्थापनइतर समूहका नेताहरुलाई थप्न नसकेको भन्दै आफ्ना समूहका साथीहरुलाई सदस्य बनाउन नसक्नेले अरुको प्रतिनिधित्व गर्न नसक्ने बताए ।

यस्तै, नेता शेखर कोईरालाले भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली काँग्रेसको औचित्य समाप्त हुने बताए । नेता कोइरालाले राज्यले नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको समेत बताए । उनले फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको भन्दै यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल बनाएको बताए ।

उनले देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको बताउँदै उहाँले जता हे¥यो त्यतै भ्रष्टाचार भएको देखिने भन्दै भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउनुपर्ने धारणा राखे ।