शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सुन काण्ड प्रकरणमा पिसिने पीडित व्यावसायीः कहिलेसम्म पिरोलिनेछन् मल्होत्रा

सोमबार, साउन ८ २०८०

काठमाडौँ : जब–जब त्रिभुवन विमानस्थलबाट तस्करीको सुन पक्राउ पर्छ, अनि नेपालका मिडियाले ‘आशंका’ शव्दको भरमा व्यावसायी दीपक मल्होत्राको नाम मुछ्नेमात्र होइन, तस्बिरसहित समाचार प्रकाशित गरी पिरोल्ने गरेका छन्। व्यावसायीक क्षेत्रमा सक्रिय रहेका उनी गाडी, मोबाइल र कृषिसँग सम्बन्धित क्षेत्रमा योगदान गरिरहेका छन्।

पछिल्लो पटक विमानस्थलबाट भन्सार पास भई आएको १५५ किलो सुन प्रकरणमा पक्राउ परेका चार जनामाथि राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ। तर, एकाएक उक्त सुन तस्करी प्रकरणमा आशंकाको हवाला दिँदै मल्होत्रालाई तानियो। जसको खण्डनका लागि उनले पत्रकार सम्मेलन मात्र गरेनन्, उनलाई विभिन्न मिडियाले यसबारेमा सोध्दा प्रष्टिकरण दिनु परेको छ।

सुनसँग सम्बन्धित व्यावसायमा मल्होत्राको साइनो नभएको होइन। तर, ०५५-५६ सालसम्म मात्र उनले सरकारले छुट दिएको परिमाणको सुन नेपालमा विक्रि वितरण गर्दै आएका थिए। तर, जब सरकारबाट उक्त काममा कडाई गरिन थालियो, उनले व्यावसायको अर्को माध्यमतिर आफूलाई केन्द्रित गरेका थिए।

मल्होत्रा भन्छन्,‘वैधानिक हिसाबले सरकारले दिएको अनुमतिका आधारमा २०–२५ बर्षअघि केही किलो सुन ल्याउन पाइने हुँदा व्यावसाय गरेको हो, तर तस्करीसँग त म निक्कै पर छु।’

सुन कारोबारमा पुरानो संलग्नता रहेका कारणले नै अहिले आएर व्यावसायीक छविमा धक्का दिनेगरी केही मिडिया नियोजित रुपमा लागेको मल्होत्राको बुझाई छ।

केही बर्ष अघि मात्र साढे ३३ किलो सुन प्रकरणमा चुडामणि उप्रेतिलाई पक्राउ गरी कारबाही गरियो। त्यसबेला पनि जबरजस्ती मल्होत्राको नाम जोड्ने प्रयास भएको थियो। तर उक्त प्रकरणमा मल्होत्रा टाढा–टाढासम्म पनि साइनो भेटिएन।

सरकारले प्रत्येक बर्षमा यस्ता सुन तस्करीका घटनामा अनेकलाई पक्राउ गरिरहन्छ, के सबै प्रकरणमा मल्होत्रालाई पिस्न मिल्छ? कुनै सम्बन्ध र साइनो नै नभएको प्रकरणमा उनलाई मुछ्नुका पछाडिको ध्येय के हुन सक्छ? मल्होत्राले भनेका छन्,‘कतिपय मिडियामा अहिले अर्थतन्त्रमा आएको समस्याका कारण विज्ञापन नदिएको रिस र आवेग हुन सक्छ। तर यसरी जोडेर चरित्र हत्या गर्नु राम्रो त भएन नि।’

‘सरकार र सम्बन्धित निकायले बेलामौका यसरी तस्करीका सुन समात्दै जाला अनि सिधा आरोप लगाउँदै जान पाइएला त? यसमा प्रमाण, अभियोगको आधार हुनुपर्छ कि पर्दैन? चरित्र हत्या र मानहानी गर्न पाइन्छ?’, मल्होत्रा निकट व्यावसायी प्रश्न गर्छन्,‘यो अति बेथिति भयो।’