सय किलो सुन एउटा ड्युटी अफिसर र जाँचकीले जाँचपास गराएर विमानस्थलबाट सजिलै बाहिर पठाउन सक्छन् होला ?
काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्पूर्ण रुपमा सत्ताधारी नेताहरुको कब्जामा रहेको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको १०० किलो बढीको सुन बरामद प्रकरणबारे एमाले नेता रिजालले सत्ताधारी दलले दुई बर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सेटिङ मिलाएर कर्मचारी पठाएको आरोप लगाए ।
मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा बरामद भएको थियो ।
यस विषयमा नेता रिजालले सत्ताधारी दल र विमानस्थल कर्मचारीको सेटिङको आरोप लगाएका हुन् ।
उनले सय किलो सुन एउटा ड्युटी अफिसर र जाँचकीले जाँचपास गराएर विमानस्थलबाट सजिलै बाहिर पठाउन नसक्ने बताउँदै उनले यदि दुईटा सामान्य कर्मचारीले यति काम फत्ते गर्छन् भने यी बाँकीले केसम्म गर्न सक्छन् होला भनेर उनले प्रश्न गरेका छन् । नेता रिजालले सामाजिक सञ्जालमार्फत ‘यो कसैमाथिको आरोप होइन, तथ्य हो’ भन्दै उनले यस्तो बताएका हुन् ।
हेर्नुहोस् उनको भनाइ जस्ताको तस्तै
यो कसैमाथिको आरोप होइन, तथ्य हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्पूर्ण रुपमा सत्ताधारी नेताहरुको कब्जामा छ । काम गर्ने अधिकारीका रुपमा सरकारी कर्मचारी पठाइए पनि त्यहाँ छानी–छानी र सेटिङ मिलाएर पठाइएका व्यक्तिहरु मात्र नेतृत्वमा छन् ।
उदाहरणका लागि– दुई बर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक रहेका अरुण पोखरेललाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सेट गरेका हुन् । प्रमुख अध्यागमन अधिकृतका रुपमा नेतृत्व गरिरहेका रामबन्धु सुवेदी प्रधानमन्त्री दाहालकी छोरी, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालसँग ‘तालिम प्राप्तु गरेपछि पठाइएका व्यक्ति हुन् भने बरिष्ठ अध्यागमन अधिकृत झंकनाथ ढकाल यसअघि पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनका निजी सचिव थिए । त्यसैगरी, सम्पूर्ण सुरक्षाको नेतृत्व गरेका डीआइजी अर्जुन चन्द ठकुरीलाई ‘आदर्शवान’ गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानेर पठाएका हुन् भने अर्थमन्त्री प्रकाशशरण महतले मन्त्रालय बाहिरबाट खोजेर शोभाकान्त पौडेललाई भन्सार विभागका महानिर्देशक यत्तिकै बनाएका होइनन् । चर्का र उट्पट्याङ कुरा गर्ने पर्यटनमन्त्री सुदन किराँतीले विश्वास गरेर जिम्मा दिएका प्रतापबाबु तिवारी विमानस्थल प्रमुख छन् ।
अब भन्नूस्– सय किलो सुन एउटा ड्युटी अफिसर र जाँचकीले जाँचपास गराएर विमानस्थलबाट सजिलै बाहिर पठाउन सक्छन् होला ? यदि दुईटा सामान्य कर्मचारीले यति काम फत्ते गर्छन् भने यी बाँकीले केसम्म गर्न सक्छन् होला ?