काठमाडौं – सेतीखोला हाइड्रोपावर लिमिटेडले र कुमारी क्यापिटलबिच सम्झौंता भएको छ । कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको ६० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासीन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौता—पत्रमा सेतीखोला हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष अनुप आचार्य तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नु भयो । सेतीखोला हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी एक अर्ब ५० करोड रूपैयाँ, जारी पूँजी एक अर्ब ५० करोड रूपैयाँ, र चुक्ता पूँजी ८८ करोड ४६ लाख ४५ हजार रूपैयाँ रहेको छ ।
सेतीखोला हाइड्रोपावर लिमिटेड बिद्युत उत्पादन गर्ने संस्थाको रुपमा बि.स. २०८० अषाढ, २९ गते प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत भएको संस्था हो । उक्त संस्थामा मुख्य लगानीकर्ता डोल्मा इम्प्याक्ट फण्ड ११ रहेको छ जसले संस्थाको ४९ प्रतिशत लगानी रहेको छ भने बाँकी ५१ प्रतिशत शेयर संस्थाका अध्यक्ष अनुप आचार्य, दिपक बराल लगायतका पोखराका स्थानिय बासिन्दाहरुको रहेको छ । कम्पनीको अध्यक्ष अनुप आचार्य रहेका छन् भने सञ्चालककोरुपमा दिपक बराल, हरिबाबु न्यौपाने, सम्झाना आचार्य, विद्यावारिधी सिग्देल र राम बहादुर पहाडी रहेका छन् ।
उक्त संस्थाको २२ मेगावाट क्षमता भएको बार्षिक उत्पादन क्षमता १३७.१८ जिडब्लुएच रहेको छ र बि.स. २०८१ श्रावण १३ गते बाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । यो आयोजना नेपालको कास्की जिल्ला पोखरा महानगरपालिका बडा नं.३३ मा अवस्थित छ । हाइड्रोपावरको कुल लागत पाँच अर्ब पाँच करोड रुपैंयाँ रहेको छ । हाल आयोजनाको ५५ प्रतिशत काम सम्पन्न भईसकेको कम्पनीले जानकारी दिएको छ ।