शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस केन्द्रीय समिति बैठक : महामन्त्रीद्वय थापा र शर्माको विकल्पको खोजी

जिल्ला सभापतिहरूसँगको छलफलमाथि उठ्यो प्रश्न

बिहिबार, साउन ४ २०८०

काठमाडौं । नेपाली कांग्रेसको एक वर्षपछि बसेको केन्द्रीय समितिको बैठकमा नेताहरुले आआफ्नो धारणा राखिरहेका छन् । बैठकमा नेताहरुको मिश्रित धारणा आइरहेको छ ।

जारी केन्द्रीय समिति बैठकमा पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि प्रश्न उठेको छ । सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कार्यसमितिमा रहेका व्यक्तिहरूलाई अनुशासन लागू हुन्छ कि हुँदैन ? भनेर प्रश्न गरे ।

महामन्त्रीद्वयलाई लक्षित गर्दै सभापति बलायरले भने, ‘एउटा केन्द्रीय सदस्य, पदाधिकारी र एउटा जिम्मेवारीमा रहेका मानिसले अर्को जिम्मेवारीमा रहेका मानिसहरूको विषयमा अभिव्यक्त गरेका धारणाहरू व्यक्त गर्दै गर्दा के राम्रो गरेको छ ? त्यसैले यहाँ लगाममा धेरै छैन । तथानाम छ जे पायो त्यही गरिएको छ ।’ महामन्त्री थापामाथि बढी आक्रामक देखिएका सभापति बलायरले महामन्त्री थापाले प्रस्तुत गरेको कार्यक्रम कार्यान्वयनमा अवरोध आउन सक्ने चेतावनी दिँदै भने, ‘कार्यतालिका एकदमै हौसिएर आएको छ । कार्यान्वयनको दिशामा ठूलो अवरोध आउन सक्ने सम्भावना म देख्दै छु । आर्थिक पाटोको पनि जिम्मेवारी बोध गरिनुपर्ने देखिन्छ । प्रदेश कार्यसमितिको भूमिकाबारे मौन छ । प्रदेशका कमिटीले काम गरेन भने बडो गाह्रो छ ।’

केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीहरू थापा र शर्माको विकल्प खोज्नुपर्ने अवस्था आउने चेतावनी दिइन् । कांग्रेसलाई बलियो बनाउने उद्देश्यका साथ अघि बढे महामन्त्रीद्वयलाई साथ दिन तयार रहेको बताउँदै खतिवडाले भनिन्, ‘तपाईंहरूले दायरा फराकिलो बनाउनुभएन भने तपाईंहरू अरू कसैको विकल्प खोज्छौँ भन्दै हिँड्नुभएको छ । तपाईंहरूको विकल्प पनि हामीले खोज्नुपर्ने अवस्था नआओस् । गठबन्धन गर्ने निर्णय केन्द्रीय समितिले गरेको थियो । परिणाम आएपछि सभापतिलाई मात्रै दोष लगाउनु हास्यास्पद छ ।’ उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा आफ्नै पार्टीका नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएकोप्रति आपत्तिसमेत जनाइन् ।

केन्द्रीय सदस्य जीवनबहादुर शाहीले महामन्त्री गगन थापालाई लक्षित गर्दै बैठकको लाइभ गरेपछि बैठकमा एउटा कुरा राख्ने बाहिर अर्को कुरा गर्ने प्रवृत्ति अन्त्य भएको टिप्पणी गर्दै भने, ‘यो लाइभले हामीले सद्बुद्धि देओस् । भित्र एउटा बोल्ने बाहिर अर्को बोल्ने ? अनि ठूला नेताहरूले जथाभावी गर्‍यो भने त्यसपछिको नेताहरूले पनि गर्नुभएन ।’ अर्का केन्द्रीय सदस्य सुशीला थिङले संसदीय दलको नेता फेर्ने कसरत गैरसंसदीय भएको टिप्पणी गरे ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूसँग गरेको छलफलको प्रक्रिया नपुगेको भन्दै बैठकमा प्रश्न उठेको छ । केन्द्रीय सदस्य नैनसिंह महरले जिल्ला सभापतिको भेलामा सभापति सहभागी नभएको विगतको उदाहरण नभएको स्मरण गर्दै भने ‘कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला पार्टी सभापति हुँदा सभापति नराखेर जिल्ला सभापति भेला भएको मैले सुनेको छैन । केन्द्रीय सदस्यहरूलाई समेत भेलामा डाकिएको भए सबैले अपनत्व लिने अवस्था आउँथ्यो । केन्द्रीय कार्यालय हामीभन्दा बाहिर होइन । हो भने जानकारी पाऊँ ।’ उनले सरकार, संसद् र पार्टीबीचको समन्वय हुन नसकेको प्रति ध्यानाकर्षणसमेत गराए ।

शीर्ष तहबाट तय भएको कांग्रेसका १० वटा एजेण्डामा अहिले छलफल भइरहेको छ । छलफलमा नेताहरुले पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन् । पार्टी बैठकमा एउटा कुरा गर्ने तर बाहिर महामन्त्री थापाले मिडियामा आफू अनुकूल प्रचार गर्ने आरोप लागिरहेको बेलामा सभापति देउवाले बैठक लाइभ गर्ने रणनीति अपनाएका हुन् । यसलाई संस्थापन पक्षले ठूलो उपलब्धि मानेको छ ।

साथै बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नेता बालकृष्ण खाँणको बचाउमा नेताहरु उत्रिएका छन् ।