बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २३ जना पक्राउ

मंगलबार, असार १९ २०८०

काठमाडौं – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा १ सय ९० केजी ८ ग्रामसहित १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्मती प्रदेश–०१–०२५ च ३३८४ नम्बरको कारमा सवार ४ जना, डिएल १ जिसि ३०३५ नम्बरको ट्रकका चालक, डिएल १२ सिए ०५७८ नम्बरको स्कारपियोमा सवार ५ जना र प्र.२–०३–००७ प.४७५४ नम्बरको मोटरसाइकलमा सवार २ जना गरी जम्मा १२ जना रहेका छन् । ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित सडक छेउबाट अवैध लागूऔषध गाँजा करिब २ सय ग्रामसहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक घर भएका १९ वर्षीय प्रदिप गिरी समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको तारकेश्वर नगरपालिका–१० लोकतान्त्रिक चोक डेरा गरी बस्ने रूपन्देही बुटवल उपमहानगरपालिका–११ घर भएका २५ वर्षीय सुनिल वादीलाई अवैध लागूऔषध गाँजा करिब ३ केजीसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उनकै कोठाबाट उक्त गाँजासहित पक्राउ गरेको हो । कास्कीको पोखरा महानगरपालिका–९ कृष्णटोल बस्ने २८ वर्षीय सुरज बिकलाई अवैध लागूऔषध गाँजा करिब ५ सय ग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

झापाको शिवसताक्षी नगरपालिका–९ झरना टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीया झरना विक र कमल गाउँपालिका–३ बस्ने २४ वर्षीया सन्ध्या राई रहेका छन् । विकले आफ्नै घरमा लागूऔषध बिक्रीवितरण गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–८ निन्दाखोला पुल नजिक छेउको झाडीबाट वेवारिसे अवस्थामा प्लाष्टिकको झोलामा रहेको नियन्त्रित लागूऔषध मेथामफेटामाइन जस्तो देखिने पदार्थ ८ सय ७० ग्राम सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उक्त लागूऔषध फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।