बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आर्थिक सर्वेक्षणले भन्यो: सहुलियत कर्जा दुई खर्ब आठ अर्ब कायम

आइतबार, जेष्ठ १४ २०८०

काठमाडौं – अर्थमन्त्रालयले आईतबार आर्थिक सर्वेक्षण २०७९–०८० सार्वजनिक गरेको छ । सर्वेक्षण अनुसार चालु आवको फागुन मसान्तसम्ममा प्रवाहित सहुलियतपूर्ण कर्जा लगानी दुई खर्ब आठ अर्ब ९६ करोड रुपैंयाँ पुगेको सर्वेक्षणमा उल्लेख छ । आर्थिक सर्वेक्षण २०७९–०८० अनुसार सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपन्छीतर्फ ६७ दशमलव आठ प्रतिशत, महिला उद्यमशील कर्जातर्फ ३० दशमलव सात प्रतिशत र सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकतर्फ एक दशमलव पाँच प्रतिशत रहेको छ ।

कोभिड–१९ बाट प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन सो क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि २०७९ फागुनसम्म ८० करोड ५ लाख कर्जा लगानीमा रहेको सर्वेक्षणमा उल्लेख छ । नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ मा पाँचौं संशोधन गरी बैंकबाट प्रदान हुने पुनरकर्जा सुविधालाई विशेष अवस्थामा तोकिएका क्षेत्रहरूमा सीमित गरी गैर परम्परागत मौद्रिक उपकरणको रूपमा मात्र प्रयोग गर्ने व्यवस्था गरिएको सर्वेक्षणमा उल्लेख छ ।

२०७९ पुस मसान्तसम्म वाणिज्य बैंकहरूले कुल कर्जा लगानीको कृषि क्षेत्रमा १३ प्रतिशत, ऊर्जा क्षेत्रमा छ दशमलव तीन प्रतिशत र लघु, घरेलु, साना एवं मझौला उद्यमका क्षेत्रमा नौं दशमलव पाँच प्रतिशत गरी जम्मा १२ खर्ब २ अर्ब ९३ करोड कर्जा लगानी रहेको छ । वाणिज्य बैंकहरूले २०८० असारसम्म कुल कर्जा लगानीको न्यूनतम ११ प्रतिशत कृषि क्षेत्रमा, छ प्रतिशत ऊर्जा क्षेत्रमा र ११ प्रतिशत लघु, घरेलु, साना एवं मझौला उद्यमको क्षेत्रमा (एक करोड भन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रूपमा प्रवाह भएका विपन्न वर्ग कर्जा समेत) प्रवाह गर्नुपर्ने व्यवस्था रहेको सर्वेक्षणमा उल्लेख छ ।

विकास बैंकहरूले २०८० असारसम्म कुल कर्जा लगानीको १६ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम-व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ पुससम्म उक्त क्षेत्रहरूमा २६ दशमलव छ प्रतिशत अर्थात एक खर्ब १५ अर्ब ७५ करोड रहेको छ । त्यसैगरी, वित्त कम्पनीले २०८० असारसम्म कुल कर्जा लगानीको ११ प्रतिशत कृषि, लघु, घरेलु तथा साना उद्यम-व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ पुससम्ममा उक्त क्षेत्रहरूमा २२ दशमलव चार प्रतिशत अर्थात १९ अर्ब ३३ करोड रुपैंयाँ रहेको छ ।