काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा सबै भन्दा नयाँ र पुरानो पार्टी दुबै एमाले नै भएको दाबी गरेका छन् ।
आज (सोमबार) पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले रास्वपाप्रति संकेत गर्दै बुढो विचार बोकेर हिँड्नेहरू नयाँ हुन नसक्ने बताए । ‘प्रगतिशील आन्दोलनविरुद्ध उनीहरु संगठित भइरहेका छन् । हाम्रो आन्दोलन र पार्टीलाई पटक पटक ध्वस्त गर्न खोजियो’, उनले भने, ‘कहिले पार्टी कब्जाा गर्न खोजियो त कहिले आन्दोलनमाथि झुटा आरोप लगाउन खोजियो ।’
उनले अहिले पनि पहिचानको राजनीतिका नाममा जातको राजनीति भइरहेको दाबी गरे । ‘हामीले अब सबैभन्दा लोकप्रिय संगठनका रुपमा अघि आन्दोलनलाई बढाउनु पर्छ’, उनले भने, ‘तर अहिले जनताको विकासको राजनीति होइन, वल्लो घर र पल्लो घरमा लडाउने काम भएको छ । म लिम्बु र म राई भनेर बिथोल्ने काम भएको छ ।’
अहिले जनताको घरमा कुलो र पानी चाहिएको बताउँदै उनले तर पहिचानका नाममा अर्कै आन्दोलन भइरहेको बताए । ‘बुढो विचार बोकेर खोलेको पार्टी कसरी नयाँ ? त्यो एउटा एनेक्स हो । समाजलाई नयाँ परिवर्तनमा पु¥याउने कुरा चाहिं नयाँ हो । एमाले सबभन्दा नयाँ पार्टी हो ।’
ओलीले पछिल्लो समय पुराना पार्टी सकिए भन्दै हल्ला फिँजाइएको र त्यो एमालेलाई टार्गेट गरिएको पनि बताएका छन् । नयाँ पार्टीहरुलाई संकेत गर्दै उनले बोतल जुनसुकै कलरका भए पनि रक्सी उही रहेको बताए । छोटो आयु भएको चिज हलक्क बढ्ने भन्दै उनले नयाँ पार्टी तितेपाती र एमाले पिपल भएको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘तितेपातीले हिउँद देख्यो भने बर्खा देख्दैन ।’ ओलीले पार्टीकै केही मान्छेले व्यक्तिगत रुपमा कसैले भ्रष्टाचार गर्छ भने त्यसलाई एमालेले नसहने पनि बताए । अध्यक्ष ओलीले थपे, ‘केही करप्सनका कुरा आउन सक्छन्, कोही कसैले करप्सन गर्ला पनि । व्यक्तिगत तवरमा कसैले गर्यो भने त्यसप्रति एमालेको समर्थन नरहने मात्रै होइन त्यस्तो करप्ट कुरालाई एमालेले कहिल्यै पनि टोलोरेट गर्दैन ।’
अध्यक्ष ओलीले एमालेविरुद्ध यसलाई पनि र उसलाई पनि तान भनेर निर्देशन दिने कुराहरु भए चुप लागेर नबस्ने चेतावनी दिए । पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएकोतर्फ संकेत गर्दै उनले एमालेलाई बदनाम गर्ने दुस्साहस नगर्न चेतावनी पनि दिए ।