बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सवारी दुर्घटनामा चार जनाको मृत्यु तथा ३० जना घाइते

आइतबार, बैशाख १७ २०८०

काठमाडौं – धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानी चौकस्थित सडकमा बा.४ च ७८४६ नम्बरको कारले स.८ प १५४६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकल चालक धनुषा धनुषाधाम नगरपालिका–९ बस्ने ४० वर्षीय कुल बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राम जानकी अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको दमक नगरपालिका–९ बरगाछीस्थित सडकमा प्र–१–०१–०१५ प ४२५१ नम्बरको स्कुटरलाई प्र १–०२–०४३ प ८५२३ नम्बरको मोटरसाइकलले शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिका–३ बस्ने ३० वर्षीय विबेक धिमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–२ पिपलभञ्ज्याङस्थित सडकमा बा.८ च ९१३५ नम्बरको कार अनियन्त्रित भई सडकबाट भिरमा खसेर आइतबार बिहान दुर्घटना हुँदा काभ्रे पनौती नगरपालिका–७ बस्ने ४२ वर्षीय शिवशरण भोछीभोया सहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १ जनालाई जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

बाराको निजगढ नगरपालिका–१ सिङ्गौलस्थित सडकमा ग.१ ख ९७१८ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएर आइतबार बिहान दुर्घटना हुँदा बसमा सवार २८ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका ९ जनाको निजगढ नेशनल अस्पताल प्रालि र १९ जनाको प्रसुति अस्पताल निजगढबारामा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएकामध्ये ६ जनाको अवस्थामा गम्भीर, ११ जना मध्यम र ११ जनाको सामान्य रहेको छ । हाल फरार बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।