शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

तनहुँ उपनिर्वाचन:

स्वर्णिमका प्रतिस्पर्धीले अन्तिम मत परिणाम नआउदै स्वीकारे हार

सोमबार, बैशाख ११ २०८०

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले हार स्वीकार गरेका छन्।

अन्तिम मत परिणाम आउनुअघि नै भट्टराईले हार स्वीकार गरेका हुन्। उनले आफूलाई विश्वास गर्ने/नगर्ने सबैप्रति आभार प्रकट गरेका छन्।

‘मलाई विश्वास गरेर सधैँ सकारात्मक प्रतिक्रिया र उत्साह दिएर मप्रतिको विश्वास मतमार्फत प्रकट गर्नुहुने तपाईं सबैप्रति आभार प्रकट गर्दछु,’ उनले सोमबार बेलुका फेसबुकमा लेखेका छन्, ‘चुनावी घरदैलोका क्रममा मेरो विगतप्रतिको तपाईंको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्ने कुराले सानो खुशी पनि दिलाएको महसुस गरेँ। साथै, मप्रति विश्वास नगर्नु हुनेप्रति पनि आभार प्रकट गर्दछु।’

चुनावमा आफूलाई अब्बल प्रमाणित गर्न नसकेको र आगामी दिनमा मतदाताको विश्वासयोग्य बन्ने प्रयास जारी राख्ने पनि भट्टराईले बताएका छन्। ‘सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वासयोग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ,’ उनले भनेका छन्।

तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले १० हजार १५४ मतान्तरले अग्रता कायम गरेका छन्। अब १७ हजार ६९० मत गन्न बाँकी छ।
हालसम्म ३१ वडाको ४६ हजार ६७ मत गणना सकिएको छ।

स्वर्णिमले २३ हजार ९६६ मत प्राप्त गरेका छन्। भट्टराईले १३ हजार ८१२ मत पाएका छन्। नेकपा एमालेका सर्वेन्द्र खनालले भने जम्मा ६ हजार ७९५ मत पाएका छन्। तनहुँ १ मा ६३ हजार ७५७ मत खसेको थियो।

यस्तो छ गोविन्द भट्टराईको भनाइः

हुन त पदलाई मैले कहिल्यै प्राथमिकतामा राखिनँ। पदमा नरहे पनि तपाईंको पीडाले मलाई छोइरह्यो।

ठूला आदर्शभन्दा तपाईंको व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो यात्राका क्रममा तपाईंसँग रहेको हुँ। यसक्रममा पार्टीले मलाई विश्वास गरेर तनहुँ १ को उप निर्वाचनमा उम्मेदवार बनाउँदा तपाईंसँगको निकटताका आधारमा जुन आत्मविश्वासका साथ मैदानमा उत्रिएँ, मैले साथ पनि पाएँ।

मलाई विश्वास गरेर सधैं सकारात्मक प्रतिक्रिया र उत्साह दिएर मप्रतिको विश्वास मतमार्फत प्रकट गर्नुहुने तपाईं सबैप्रति आभार प्रकट गर्दछु।
चुनावी घरदैलोका क्रममा मेरो विगतप्रतिको तपाईंको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्ने कुराले सानो खुशी पनि दिलाएको महसुस गरें। साथै, मप्रति विश्वास नगर्नुहुनेप्रति पनि आभार प्रकट गर्दछु।

सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ। तपाईंहरुको जनादेशलाई शिरोपर गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

उही तपाईंको
गोविन्द