काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दूर्योधनको संगतमा परेर बाटो बिराएकाहरू आफ्नो पार्टीमा फर्किएको टिप्पणी गरेका छन् ।
आज (शनिबार) नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा प्रवेश गरेका नेताहरूलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादी छाडेका नेता मुकुन्द नेउपानेले दूर्योधनको संगतमा परेर बाटो बिराएको पनि बताए । २७ सालदेखि मुकुन्द नेउपानसँग आफ्नो सम्बन्ध रहेको र यो ५३ वर्ष बढी भएको बताउँदै अध्यक्ष ओलीले भने, ‘गलतका संगतमा पर्यो भने कहिले काँही गलत बाटो हिँड्दिो रहेछ,’ उनले थपे, ‘दूयोर्धनको संगतमा पर्यो भने भिष्म पिताम्बर जस्तो मान्छे पनि बेठिक बेठिक काम गर्न लाग्दो रहेछ ।’
‘त्यस्तै बेठिक मान्छे दूर्योधनको संगतमा परेर बाटो बिराउनु भएको थियो । तर आज फेरि पार्टीमा आउनु भएको छ,’ ओलीले भने । नेपालमा भएका कम्युनिस्टहरु सबै आफ्नो पार्टीबाट गएको उनले दाबी गरेका छन् । न्यौपाने एकीकृत समाजवादीमा तेस्रो वरियताका नेता थिए । पार्टी परित्याग गर्दै उनले नेकपा एकीकृत समाजवादी पार्टीको सदस्य हुनुभन्दा देशको असल नागरिक भएर बस्ने उचित हुने निष्कर्ष निकालेको बताएका थिए ।