काठमाडौं । सरकारको सय दिनको उपलब्धि भ्रष्टाचार र दिशाहीन भएको सांसदहरूले टिप्पणी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्ने सांसदहरूले देशमा भ्रष्टाचार जरैसम्म पुगेको टिप्पणी गरेका हुन् ।
एमाले सांसद रघुजी पन्त बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सरकारको सय दिन अन्योलसँगै दिशाहीन भएको बताए । सरकारको सय दिनको उपलब्धि भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो, आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने थाहा छैन,’ उनले भने ।
सरकारले उपलब्धि भनेर ३७ बुँदा सार्वजनिक गरे तापनि ती कुनै उल्लेखनीय काम नभएको उनको टिप्पणी थियो।
सांसद पन्तले दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गर्न मस्यौदा तयार गरिएकोबारे सरकारसँग प्रश्न गरे। उनले एनसेललाई सरकारको स्वामित्वमा नल्याउन मस्यौदा विधेयकबाट चलखेल गर्न लागिएको बताए। कम्पनी सरकारको स्वामित्वमा आउनुपर्ने हो । २०८६ मा २५ वर्ष पुगेपछि सरकारको स्वामित्वमा आउँथ्यो । तर, त्यो सरकारको स्वामत्विमा आउन नदिनको लागि मस्यौदा विधेयक गरेर त्यसलाई चलखेल गरिँदै छ । सरकारको स्वामित्वमा कहिल्यै नआउने ढंगले प्रावधान राखिँदै छ । देशभक्त सचिवले त्यसको विरोध गर्दा प्रधानमन्त्री कार्यालयमा बोलाइयो र अर्को राखियो । अर्बौं, अर्ब नाफा भइरहेको कम्पनीलाई सेटिङमा कानुन फेरेर सरकारको स्वामित्वमा नल्याउने कुरा भइरहेको छ ।’ सांसद पन्तले दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गर्न तयार हुँदै गरेको मस्यौदामा सरकारको स्वामित्वमा कहिल्यै नआउने ढंगले प्रावधान राख्न लागिएकोप्रति आपत्ति जनाए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरे पनि अदालतले सफाइ दिने गरेको उनीहरूको आरोप थियो । बैठकमा सांसद हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताए । संसद् बैठकको आकस्मिक समयमा बोल्दै ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको बताए । विमानस्थलमा विदेशबाट ल्याइएका शवका बाकससमेत लुट्नका लागि फुटाइने गरेको उनको भनाइ छ । गरिब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको उनले बताए । ‘विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकस फोरिएको छ । ब्याग फुटेको त जानकारी थियो, केही सामान छ कि भनेर शवका बाकससमेत लुट्नलाई फोरिएका छन्,’ ढकालले भने, ‘समाज कहाँ जाँदै छ ? समाज के बन्दै छ ? भ्रष्टाचार यसरी संस्थागत भएछ कि शव बोकेको बाक्सा पनि एयरपोर्टमा फुट्छ । गरिब चेपाङ कुपोषित बच्चाको दिवा खाजा लुट्छ । दिवा खाजामा भ्रष्टाचार छ ।’
नेमकिपाका सांसद प्रेम सुवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा दोषीलाई सफाइ दिने न्यायाधीशहरूलाई कारबाही गर्नुपर्ने बताए । सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार भएको भनी अख्तियारले मुद्दा दायर गरे पनि दाबीविरुद्ध फैसला दिने र दोषीलाई सफाइ दिने विशेष अदालतका न्यायाधीशहरूलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको टिप्पणी गरे । संघीयता कार्यकर्ता भर्ती गर्ने ठाउँ भएको भन्दै ऋण ल्याएर प्रदेश पाल्न नसकिने उनले बताए। विदेशबाट ऋण ल्याएको ल्याएकै गरे पनि हरेक दिन बेरोजगारी समस्या बढेको भन्दै यसको जवाफ हालसम्मका प्रधानमन्त्रीहरूले दिनुपर्ने उनको भनाइ छ । ‘हरेक दिन बेरोजगारी बढेको बढ्यै छ । विदेशबाट ऋण ल्याएको ल्यायै छ । त्यो पैसा कहाँ गयो ?’ उनले भने, ‘यो पैसाको एक(एक हिसाब अहिलेका प्रधानमन्त्री र आजसम्म भएका प्रधानमन्त्रीहरूले दिनुपर्छ । प्रदेश एउटा पहिचानका लागि चाहिन्छ । एउटा देश ठूलो भयो भने देशलाई केन्द्रीकरण गर्न चाहिन्छ । तर, आज देशमा संघीयता कार्यकर्ता भर्ति गर्ने, कहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो । यसरी देश विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ।’
राप्रपा अर्का सांसद सांसद दीपकबहादुर सिंहले विदेशबाट आएको पैसाले नै सांसदहरूले तलब भत्ता खाएको बताएका छन्। उनले विदेशबाट पैसा नआएको भए सांसदहरूले पनि तलब भत्ता खान नपाउने दाबी गरे। त्यतिमात्र होइन उनले देशलाई वैदेशिक रोजगारमा जानेहरूले नै श्रीलंका हुनबाट जोगाइरहेको पनि बताए। उनले भने, ‘आज ती भाइबहिनीहरूको सुरक्षाका लागि सरकारले के दिएको छ ?के गरेको छ ? सरकारले त्यो पक्षमा के सोचेको छ। सरकारले अयोग्य लडाकुलाई करोडौं बाँड्न थालेको छ। त्यो पैसा जो बाकसमा आएका छन्। त्यो परिवारलाई राहत बाँडे सरकारको जयजयकार हुन्थ्यो।’ सरकारले एक सय दिन कटाउँदासमेत केही गर्न नसकेपछि विरोध भएको बताए।