कैलाली । एमाले नेता भीम रावलले आफू एमालेमै रहिरहन अन्तिम विन्दुसम्म प्रयास गर्ने बताएका छन् ।
मंगलबार कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई एमालेमा बस्न नदिने प्रयास भइरहेको बताए ।
यदी एमालेमै बस्न नदिनेगरी घचेटिरहे आफूले पनि नयाँ कदम चाल्ने नेता रावलको भनाइ छ ।
राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एमालेबाट घचेट्ने काम भएको भन्दै उनले तर, यही प्रक्रिया चलिरहे कार्यकर्ता र जनताको सल्लाहमा नयाँ पाइला चाल्ने बताए ।
केही घण्टा अघि उनले सामाजिक सञ्जालमार्फत विष्णु पौडेलजीले आफू विरूद्ध लगाएको आरोप निराधार भएको बताएका थिए । उनले ती आरोपमा कुनै तथ्य राख्न नसकि भ्रम छर्ने दुस्प्रयास गरिएको बताउँदै ती भनाइ प्रतिशोध, निषेध र पूर्वाग्रहले ग्रसित रहेको उल्लेख गरेका थिए ।
चैत १३ गते अछाम, साँफेबगरको एक कार्यक्रममा विष्णु पौडेलजीले मेरो विरूद्ध लगाउनु भएका आरोप निराधार छन्। ती आरोपमा कुनै तथ्य राख्न नसकि भ्रम छर्ने दुस्प्रयास गरिएको छ। उहाँको भनाइ प्रतिशोध, निषेध र पूर्वाग्रहले ग्रसित छ ।सबै देशभक्त इमानदारहरू सजग रहौं ।
— Bhim Rawal, PhD (@BhimRawal179) March 27, 2023