काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत लिएको एक साता बित्दा पनि आफू नेतृत्वको सरकारलाई पूर्णता दिन सकेका छैनन् ।
चैत ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिएकै दिन प्रधानमन्त्री प्रचण्डले दुईचार दिन (चैत्र १० गतेसम्म) मा सरकारलाई पूर्णता दिने बताएका थिए। तर, एक साता बित्दा समेत सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँडमा ठोस सहमति जुट्न सकेको छैन ।
सत्ता गठबन्धनमा शीर्ष तीन नेताहरुको आज विहान भएको भेटवार्तापनि मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे फेरि मंगलबार अपराह्नसम्मको भाखा सारिएको छ । प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको थियो ।
उक्त भेटघाटपछि मन्त्रिपरिषद विस्तारका लागि मंगलबार दिउँसो ४ बजे सत्ता गठबन्धनको बैठक बोलाउने समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डसँग १६ वटा मन्त्रालयको जिम्मेवारी छ । सत्ता गठबन्धनबीच कसले कुन मन्त्रालय पाउने भन्ने अन्तिम भागबन्डा नभएको र दलभित्रै पनि कसलाई मन्त्री बनाउने भन्ने निष्कर्षमा दलहरु नपुग्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइरहेको छ ।
प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन दलका शीर्ष नेताहरूसँग एक्लाएक्लै र सामूहिक छलफल जारी राखे पनि मन्त्रालय भागबण्डामा सहमति जुट्न सकेको छैन ।
मन्त्रालय बाँडफाँटबारे सोमबार प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भए पनि कुनै सहमति जुट्न सकेन । यसअघि पनि उनीहरुबीच पटक पटक भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री प्रचण्ड आफूलाई विश्वासको मत दिने अधिकांश दलहरुलाई सरकारमा समावेश गराउने पक्षमा देखिएका छन् । गठबन्धनमा रहेका दलहरूमध्ये राष्ट्रिय जनमोर्चाबाहेक १० दल सरकारमा सहभागी हुन चाहेका पनि छन् ।
गठबन्धनभित्र कुन दलले कति मन्त्रालय लिने भन्नेमै अझै सहमति हुन सकेको छैन । गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले अर्थ वा गृहमध्ये एकसहित कुल नौ मन्त्रालयमा दाबी गर्दै आएको छ । सबैलाई मिलाएर लैजानुपर्ने भएकोले सामूहिक छलफलबाटै निर्णयमा पुग्नुपर्नेमा जोड दिँदै आएका प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिएका सबै पार्टी सरकारमा जान आकांक्षा देखाएकाले कांग्रेसलाई सातदेखि आठ मन्त्रालय दिने मनस्थिति बनाएका छन् । माओवादीबाट अहिले सरकारमा प्रधानमन्त्रीबाहेक चारजना मन्त्री छन् । माओवादीले केही थप मन्त्रालय आफूसँग राख्न खोजेको छ । अर्थ मन्त्रालय कांग्रेसलाई दिएर गृह आफैँसँग राख्ने माओवादीको तयारी छ ।
यता सरकारबाट गृह नपाएर बाहिरिएको रास्वपाले भने गृह मन्त्रालयको बटम लाइन बनाएको छ । अध्यक्ष रवि लामिछानेले सांसद पद गुमाउँदा सरकारबाट बाहिरिएको रास्वपाले प्रचण्डलाई दोस्रो पटक पनि विश्वासको मत दिएर सरकारमा जाने मनसाय राखेको छ ।