काठमाडौं । २५ पुसमा भएको राष्ट्रपति चुनावमा बनेको १० दलीय गठबन्धन उपराष्ट्रपतिको चुनावसम्म पुग्दा भत्किने संभावना बढेको छ ।
नेपाली कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा निर्वाचित गराउन बनेको १० दलीय गठबन्धन शनिबार उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गर्दासम्म आइपुग्दा नै भत्किएको संकेत देखिएको छ । एमाले एक्ल्याएर राष्ट्रपतिमा पौडेललाई निर्वाचित गराउन बनेको १० दलीय गठबन्धनबाटै उपराष्ट्रपतिमा ३ जनाको उम्मेदवारी परेको छ ।
सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ । जनमत पार्टीकी नेता ममता झाले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।
तीन जनाको उम्मेदवारी परेपनि गठबन्धन नभत्किएको नेताहरूले दाबी गरे पनि यता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताका लागि सहमति भएको छ । यी तीन दलले जनमतकी उपराष्ट्रपति उम्मेदवार ममता झालाई सहयोग गर्ने सहमति पनि भएको छ । जबकी गठबन्धनमा उपराष्ट्रपति जसपालाई दिने सहमति भएको थियो ।
झाले उम्मेदवारी दर्ता गरेपछि जनमतका अध्यक्ष सीके राउतले गठबन्धनमा सहमतिको प्रयास भइरहेको बताएका थिए । तर, सहमति हुन नसके मित्रवत् प्रतिस्पर्धा हुने बताएका छन् ।
अहिले उपराष्ट्रपति चुनावमा १० दलीय गठबन्धन भत्किए अर्को गठबन्धन बनेपछि उपराष्ट्रपति चुनाव त्रिपक्षीय हुने अवस्था बनेको छ । र चुनाव परिणाम अहिल्यै अनुमान गर्न नसकिने गरी रोचक मोडमा पुगेको छ ।
उपेन्द्र यादव सीके राउतसँगै सप्तरी २ मा पराजित भएर अहिले संसद बाहिर छन् । आफैँले पराजित गरेका यादव उपचुनावमार्फत संसदमा आउने योजनामा रहेको बुझेपछि राउतले आफ्नो पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार उठाएका हुन् । त्यतिमात्र होइन यादवलाई एक्ल्याउन मधेशमा तीन दलको कार्यगत एकता गर्नेगरी सहमति समेत जुटाएका छन् ।
मधेसमा उपेन्द्र यादवविरुद्ध तीन दलीय मोर्चा
लोसपा नेपाल, जनमत पार्टी एवं नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीको आधारमा कार्यगत एकताको निम्ति सहमति भएको छ ।
तीन दलको यो सहमतिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीविरुद्ध मोर्चाबन्दीको सन्देश दिएको छ ।
उपराष्ट्रपति निर्वाचनका लागि पनि जसपा र जनमत पार्टीबाट उम्मेदवारी दर्ता भएको छ । यद्यपि दुवै दल १० दलीय गठबन्धनमा सहभागी छन् ।
सीके राउत र उपेन्द्र यादवको प्रतिस्पर्धामा लोसपा र नागरिक उन्मुक्ति मिसिनु ठीक नभएको लोसपा नेताहरूको भनाइ छ । बरु मधेस आन्दोलनका सहयात्री उपेन्द्रसँग नजिक हुनुपर्नेमा सीकेसँग नजिकिनु राम्रो नभएको भन्दै लोसपामा असन्तुष्टि देखिएको हो ।