काठमाडौं फागुन, २०–
पार्टी सभापति शेरबहादुर देउवाले आफू सर्वसम्मत संसदीय दलको नेता हुन गरेको प्रस्ताव बरिष्ठ नेता रामचन्द्र पौडेलले अस्वीकार गरिदिएका छन् । हिजो मात्रै सभापति देउवाले आफ्ना दुत गोपालमान श्रेष्ठ र रमेश लेखक मार्फत नेता पौडेललाई उक्त प्रस्ताव पठाएका थिए ।
शनिबार नेता पौडेलले श्रेष्ठ र लेखकसँग उक्त प्रस्तावकाबारेमा छलफल गरेका थिए । देउवाले अगाडि सारेको प्रस्तावमा दलको नेता सभापति देउवालाई बनाउने र उपनेता चाहिँ पौडेल समूहले अगाडि सारेको व्यक्ति बनाउने भन्ने छ ।
पौडेल समूहबाट प्रकाशमान सिंह मैदानमा उत्रने तयारी गरिरहेका बेला सभापति देउवाको विकल्प अगाडि आएको हो ।
तर, पौडेलले निर्वाचनको पराजयको जिम्मेवारी सभापतिले नलिएसम्म अन्य कुरामा सहमति हुन नसक्ने बताएका हुन् ।
‘देउवाजी पराजयको जिम्मेवारी लिन तयार हुनुहुन्न । उहाँले जिम्मेवारी नलिदासम्म अरु विषयमा सहमति हुन सक्दैन,’ पौडेलले भने ।
पौडेल पक्षिय केन्द्रीय सदस्य नविन्द्रराज जोशीले संसदीय दलको नेता देउवा बनेर उपनेता पौडेल पक्षलाई दिने गरि देउवाले ल्याएको विकल्पमा आफुहरुको असहमति रहेको जानकारी गराए ।
‘नैतिकताको लडाई हो । संसदीय दलको नेता र उपनेताको वाँडफाड हुने सम्भावना छैन ।’ जोशीले भने ।
दलको नेता चयन लागि उम्मेदवारी दर्ताको लागि आज साँझ समय तोकिएको छ भने निर्वाचन सोमवार १० वजे देखि १ वजेसम्म हुँदैछ ।
सभापति देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंह दलको नेता लागि चुनावी प्रतिस्पर्धामा उत्रने तयारी गरेका छन् ।
गत बुधवार काँग्रेस महामन्त्री डा शसांक कोइरालाले आफ्नै निवासमा काँग्रेस सांसदका लागि आयोजना गरेको दिवाभोजमा देउवा र सिंह दुवैले संसदीय दलका लागि उम्मेदवारी घोषणा गरेका थिए ।
अहिलेसम्मको अंकगणितअनुसार देउवाको पक्षमा प्रत्यक्ष ११ र समानुपाकित २८ गरी ३९ सांसद छन भने सिंहको पक्षमा प्रत्यक्ष ९ र समानुपातिक १२ गरी २१ सांसद छन् ।
कृष्णप्रसाद सिटौला पक्षका भीमसेनदास प्रधान र उमाकान्त झाले देउवालाई भोट दिने सम्भवना रहेको काँग्रेस नेताहरु बताउँछन् ।
समानुपातिक सांसद विनोद चोधरी पनि कतै खुलेका छैनन् । कांग्रेसले संघीय सांसदको शपथपछि मात्रै दलको नेता चयन गर्न लागेको हो ।
संस्थापन पक्षमा बहुमत सांसद रहेकाले देउवा संसदीय दलको नेता हुने करिव निश्चित छ । कांग्रेसले संसदीय दलको नेतामा उम्मेदवारी दर्ता शुल्क ४१ हजार रुपैयाँ तोकेको छ । २१ फागुन बिहान १० देखि दिउँसो १ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुनेछ ।