काठमाडौं फागुन, १८–
रङ्गहरुको पर्वको रुपमा लिईने होलीको दोस्रो दिन आज देशको तराई र मधेस क्षेत्रमा धुमधामका साथ मनाईदैछ । फागु पूर्णिमा अर्थात् होली बिहीबार देशका पहाडी जिल्लाहरुमा पर्व मनाइएकोमा आज तराईका जिल्लाहरुमा मनाउन लागिएको हो ।
काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबिर लगाएर आज होली पर्व मनाउँदैछन् । परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ ।
होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउँछ । होलीका अवसरमा विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ ।
होली पर्वकै अवसरमा सरकारले आज तराईका जिल्लाहरुमा बिदा दिएको छ । होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्त्व छ ।
हिरण्यकश्यपुले आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रह्लाद बच्न सफल भएको खुशीयालीमा होली पर्व मनाउदै आएको पौराणिक कथन रहेको छ ।