बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कसले पाता कस्ने यिनलाई ?

बुधबार, फाल्गुन १६ २०७४

काठमाडौं । पहिले पहिले भन्ने गरिन्थ्यो, ‘राजाको काम कहिले जाला घाम !’ नेपाल र नेपालीको भाग्यसँग जोडिएको, उज्यालो भविष्यसँग जोडिएको एउटा जलविद्युत आयोजना हो मध्यभोटेकोशी जलविद्युत आयोजना । यो आयोजना १०२ मेगावाटको छ । १०२ मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिँदा भारतसँगको परनिर्भरता ह्वात्तै घट्थ्यो । वार्षिक करोडौ रुपैया भारत जानबाट रोकिन्थ्यो । 
सन् २०१३ मा सुरु भएको यो आयोजना २०१७ मा सकिनु पर्ने थियो । तर आश्चर्य त के छ भने यो आयोजनाको काम ३० प्रतिशत मात्रै सकिएको छ । यसमा सरकारको केही कमजोरी छैन । कमजोरी छ त कामचोर, असक्षम ठेकेदारको । लातको भूत बातले मान्दैन भन्ने गरिन्छ । वास्तवमा यसरी हुने ढिलासुस्ती देख्दा नेपालमा अधिकांश आयोजनामा ठेकेदारहरुलाई ‘लात’अर्थात कडा कारबाहीको आवश्यकता देखिन्छ । 
भूकम्प, नाकाबन्दी र भोटेकोशीमा आएको बाढीका कारण आयोजनाकाको म्याद थपिएर सन् २०१९ को जुनसम्म र्पुयाइएको छ । तर निर्माणको गति हेर्दा यो मितिमा पनि आयोजना बन्न सम्भव नदेखिएको प्रभावित क्षेत्रका वासिन्दाहरु बताउँछन् । मध्यभोटेकोशी आयोजना अन्तर्गत साविकको मार्मिङ गाविसको चाकु दोभानबाट भोटेकोशी र चाकु नदीको पानी ७.२ किलोमिटरको सुरुङबाट गातीको जम्बुमा खसालेर विद्युत उत्पादन गर्न लागिएको हो ।
साढे १४ अर्बको लागत रहेको यस आयोजनामा पूँजी लगानीका लागि कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता भइसकेको छ ।
आयोजनाको मुख्य काम सुरुङ र पावर हाउस निर्माणको काममा मुख्य ढिलाइ भएको छ । यो कामको ठेक्का झण्डै ८ अर्ब रुपैयाँमा चिनियाँ कम्पनी ग्वाङ्सी हाइड्रो इलेक्ट्रोनिक कम्पनीले लिएको छ ।
मध्यभोटेकोशी जलविद्यतु आयोजनाका कार्यकारी निर्देशक मणिराम काफ्ले ठेकेदारका कारण काम नभएको बताउँछन् । ‘जसलाई निर्माणका जिम्मा दिइएको हो, उसले नै मन लगाएर काम गरेको छैन’ उनले भने, ‘खाली पैसा मात्रै माग्छ, उनीहरुलाई तत्काल दिने पैसा पनि हामीसँग छैन, केही लगानी ठेकेदारबाटै हुने हो भने सजिलो हुने थियो तर ठकेदार कमजोरी भयो ।’
मध्यभोटेकोशी जलविद्युत आयोजनामा हालसम्म एक दर्जन बढी प्रमुख फेरिइसके पनि आयोजनाले गति लिन सकेको छैन ।  नेपाल विद्युत प्राधिकरणका हालका कार्यकारी निर्देशक कुलमान घिसिङको आयोजनाले केही गति लिए पनि उनको सरुवा भएपछि आयोजनामा फेरि समस्या सुरु भएको थियो ।
आफ्नै अगुवाइमा सुरु भएको आयोजनामा अहिले समस्याग्रस्त हुँदा पनि प्राधिरकरण प्रमुख घिसिङले ध्यान नदिएको स्थानीयको गुनासो छ ।
जग्गा अधिग्रहणका लागि आयोजनाले सुरुदेखि नै पहल गरे पनि हालसम्म पनि मुआब्जा विवाद समाधान भएको छैन । विवादका कारण बाँधस्थलको जग्गा अधिग्रहण भएको छैन ।
‘बाँधस्थलको जग्गा अहिलेसम्म ठेकेदारलाई उपलब्ध गराउन सकिएको छैन’ काफलेले भने । जग्गाधनीले धेरै मुआब्जा माग गरेको उनले बताए ।
मध्यभोटेकोशी जलविद्युत आयोजनामा १ सय बढी कर्मचारी कार्यरत छन् । तर उनीहरु धेरैजसो राजनीतिक दलको सोर्सफोर्समा नियुक्त भएका काममा लगाउन पनि नसकिएको आयोजनाका एक सञ्चालक बताउँछन् ।
‘छैनन् भन्दा एक सय बढी कर्मचारी छन् तर हाम्रो कर्मचारी भएनन, कोही एमालेका कोही कांग्रेस र माओवादीका मात्रै भए’ उनले भने ‘काम नगर्ने कर्मचारीहरुलाई एक्सन लिन खोज्यो दलहरुबाट फोन आइहाल्छ ।’
आयोजनास्थलमा कार्यालय र कर्मचारीहरुका लागि सुविधा सम्पन्न भवनहरु निर्माण भएका छन, तर आयोजनाका कर्मचारीहरु भने राजधानीमा नै बसेर सेवा सुविधा लिइरहेका छन् ।
स्थानीय वासिन्दाका अनुसार आयोजनास्थलमा कर्मचारी नै आउँदैनन् र आए पनि विहान आएर बेलुका फर्किन्छन् ।
आयोजना कस्तो बन्ने हो भन्ने फाइनल डिजाइन अहिलेसम्म बनेको छैन । डिजाइन नबन्दा चिनियाँ ठेकेदारलाई काममा लगाउन पनि समस्या छ । मध्यभोटेकोशी जलविद्युत आयोजनाले आयोजना डिजाइनका लागि इन्जिनियर विजयलाल श्रेष्ठलाई जिम्मा दिएको थियो । श्रेष्ठले अहिलेसम्म डिजाइन नदिएको बाह्रविसे नगरपालिकाका मेयर एवं स्थानीय सरोकार समितिका प्रमुख निमफुञ्जो शेर्पाले आरोप लगाए ।
शेर्पा मध्यभोटेकोशी जलविद्युत आयोजनामा स्थानीय जलविद्युत आयोजनाहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्छन् । आयोजनाबाट श्रेष्ठ यसअघि नै बाहिरिसके पनि सोर्स लगाएर फेरि आयोजनामा आएका छन् ।