काठमाडौं । पाँच नम्बर प्रदेश सरकार सञ्चालनमा सघाउन केन्द्रले १ सय ८६ कर्मचारी बुटबल खटायो । तर राजधानीमा बसी बसी तर मार्न पल्केका राष्ट्र सेवक भनिने कर्मचारी किन जान्थे र ? १८६ मध्ये ८६ जना त रवाना बुझे, जान्छौं भनेर हिँडे पनि । तर बुटवल पुगेकै छैनन् ।
हालसम्म उक्त प्रदेशका लागि स्थानीय विकास मन्त्रालयले २३५ कर्मचारी खटाएको थियो । तर, खटाइएका कर्मचारीमध्ये ४९ जनामात्रै हाजिर भए । बाँकी कता पुगे पाँच नम्बर प्रदेशको मुख्यमन्त्री कार्यालयलाई पनि जानकारी छैन । खटाइएका धेरैजसो कर्मचारी काठमाडौंकै छन् । काठमाडौंबाट बुटवल पुग्न १०–१२ घन्टा लाग्छ । तर अझै ती कर्मचारी पुगेकै छैनन् । आखिर उनीहरु गए कहाँ त ? खटाइएका कुल २३५ मध्ये ८० प्रतिशत त बाटोबाटै गायब भएका छन् ।
कर्मचारी नहुँदा नियमित काम र कार्यालयीय व्यवस्थापनमा समस्या भइहेको पाँच नम्बर प्रदेश मुख्यमन्त्रीको कार्यालयका एक वरिष्ठ कर्मचारीले बताए । सहकर्मीहरु नआएपछि भएका कर्मचारीहरुले विदाको दिन पनि काम गरिरहेका छन् ।
मुख्यमन्त्री कार्यालयमासमेत २९ कर्मचारीको दरबन्दी रहेकोमा अहिलेसम्म १० जना मात्रै हाजिर भएका छन् । त्यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयमा खटाइएका २७ मध्ये ७ कर्मचारी मात्रै हाजिर छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ३८ मा ११ जना र आन्तरिक मामिला तथा कानूनमा २९ मध्ये ५ कर्मचारी मात्रै हाजिर भएका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमा ३३ कर्मचारी हाजिर हुनुपर्नेमा ५ जना र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा खटाइएका ३८ मध्ये ६ कर्मचारीमात्र नियमित काममा आएका छन् । त्यस्तै, सामाजिक विकास मन्त्रालयमा ४१ कर्मचारी हुनुपर्नेमा ५ जना मात्र आइपुगेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय ६ तले सेतो भवनमा रहेका छन् ।