काठमाडौं फागुन, ९–
पछिल्ला दिनमा नेपालमा नागरिकको परिचयको रुपमा रहेको नागरिकता प्रमाणपत्रको बारेमा निकै विवादित बिषय छताछुल्ल भैरहेका छन् । यसरी देखिएका नागरिकताका विवाद मूलुककै माथिल्लो ओहोदामा बसेका प्रतिष्ठित व्यक्तिहरुमा देखिएको छ । नागरिकता वास्तवमा राष्ट्रकै निकै सम्बेदनशिल बिषय हो । गैर नागरिकले नागरिकता लिएको समाचार त सार्वजनिक भैरहेका बिषय हुन् । त्यो राज्यकै निकम्बा पनले भएको हो । राज्यले कडाई गर्न नसक्दा गैर नागरिकले नागरिकता पाउने गरेका छन् ।
तर, यहाँ त गैर नागरिकले भन्दा पनि देशकै नागरिकले नागरिकताका बारेमा गरेका गेरजिम्मेवार हर्कत हरेक दिन छताछुल्ल भैरहेका छन् । त्यसमा पनि माथिल्लो ओहोदामा बसेका नागरिकहरुको नागरिकता आतंकले हाम्रो देशमा नागरिकता प्रदान गर्ने निकायमा बस्नेहरुको गैरजिम्मेवार हर्कत छताछुल्ल भएको छ । त्यसमा पनि माथिल्लो ओहोदामा रहेका प्रतिष्ठित व्यक्तिहरुको नागरिकतामा विभिन्न किर्ते हर्कतले नेपाली नागरिकहरुको शिर निहुरिन पुगेको छ । माथिल्लो ओहोदामा बसेका हरुको नागरिकतामा यति विधि विवाद आउदा पनि छाती फूलाएर सगर्व हिडिरहेका छन् । यदि सामान्य नागरिक हुँदो हो त यति विवादमा पर्नासाथ यतिबेला जेलमा परिसकेको हुन्थ्यो । त्यसैले हाम्रो मूलुकमा चलि आएको उखान ‘ठुलालाई चैन सानालाई ऐन’ भन्ने चरितार्थ भएको छ । हुन त समाजमा कति जनाको नागरिकता विवादित छ खोज्दै गएपछि भेटिदै जाला तर, यतिबेला सतहका केही चर्चित पात्रका नागरिकतामा देखिएको विवाद उत्कर्षमा रहेको छ ।
एमालेका बरिष्ठ नेता तत्कालिन प्रधानमन्त्री झलनाथ खानालको पालामा अर्थराज्यमन्त्री बनेका ल्ह्यारक्याल लामा दोहोरो नागरिकता भएकै कारण त्यतिबेला निकै विवादमा तानिएका थिए । दोहोरो नागरिकताकै कारण उनले अर्थराज्यमन्त्रीबाट राजिनामा दिन परेको थियो । त्यस्तै, तत्कालिन बैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीको पनि नागरिकता विवादले उतिबेला निकै चर्चा पाएको थियो । उनको पनि दुईवटा नागरिकता रहेको कुरा सार्वजनिक भएको थियो । त्यस्तै पछिल्लो समय प्रधानन्याधीश गोपाल पराजुलीको नागरिकताको बारेमा औंला उठाउदै आएका शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसी आफै दोहोरो जन्म मितिको मारमा परेका छन् ।
चिकित्सक केसीले प्रधानन्यायाधीश पराजुलीको तीनवटा नागरिकता रहेको आरोप लगाएर अनसन बसेका थिए । प्रधानन्यायाधीश पराजुलीको नागरीकताको तीनवटा रहेको भनेर आन्दोलीत गोविन्द केसीकै जन्ममितिमा प्रश्न उठेपछि नेपालमा नागरिकताको बारेमा निकै आतंक पैदा भएको छ । त्यस्तै, गुण्डा नाइके तथा मनाङ प्रदेशसभाका सांसद दिपक मनाङ्ेगेको समेत दुइैवटा नागरिकता फेला परेका छन् । उनका दुईवटा नागरिकतामा फरक फरक नम्बर फेला परेका छन् । यसरी हेर्दा नागरिकता लिनेहरु भन्दा पनि नागरिकता प्रदान गर्ने निकायको गैरजिम्मेवारी पनले यो समस्या उत्पन्न भएको देखिन्छ । त्यसैले सरकारले बेलैमा ध्यान पुर्याउन नसके यो समस्याको प्रकोप अझै बढ्ने देखिन्छ ।