काठमाडौं फागुन, ७–
सोमबार प्रजातन्त्र स्थापनाको सम्झना गर्दै प्रजातन्त्र दिवस मनाइएको छ । काठमाडौंको टुँडिखेलमा २००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना भएको सम्झनामा विशेष समारोह गरिएको छ ।
सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रहरु, मुख्यसचिव, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि उपस्थित रहेका थिए ।
सो अवसरमा राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश पराजुलीले शान्तिको कामना गर्दै सेतो परेवा उडाएका थिए ।
सोही अवसरमा नेपाली सेनाका दुईवटा हेलिकप्टरले पुष्पवृष्टि गरेको थियो भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट मार्चपास गरिएको थियो ।
उपत्यकाभित्रका विभिन्न स्थानीय तहले आ–आफ्ना सांस्कृतिक झल्किने झाँकीसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताए ।
उनले सबै तहको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकासमार्फत् ‘सुःखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य हासिल गर्न लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।