काठमाडौं फागुन, १–
आज फागुन १ गते माओवादी केन्द्रले २३ औ जनयुद्ध दिवस मनाईरहदा माओवादीले आमन्त्रण गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी ओली देखि वामदेव गौतम सम्मले सहभागीता जनाएनन् । एमाले र माओवादी पार्टी एकताको चरणमा रहेका छन् । माओवादी मुख्यालय पेरिसडाँडामा प्रचण्ड सहभागी हुने कार्यक्रममा एमाले नेतालाई पनि निम्त्याइएको थियो, तर एमाले नेताले माओवादीको निम्तो स्वीकार गरेको देखिएन । यद्यपि, पेरिसडाँडामा आयोजना गरिएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले एमालेले जनयुद्ध स्वीकार गरेको जनाएका थिए । तर, जनयुद्ध स्वीकार गर्न तयार भएको भनिएका एमालेका नेताहरु भने जनयुद्ध दिवसमा आयोजना गरिरहेको कार्यक्रममा देखिएनन् । वाइसीएलले गएको माघ १८ गते नै जनयुद्ध दिवस मनाउन तयारी गरेको थियो । सोही बैठकले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गर्ने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निम्तो दिने निर्णय समेत गरेको थियो । तर, वाइसीएल नेपालले विशेष कारणबस भन्दै केपी ओलीलाई निमन्त्रणा नगर्ने निर्णय गरेको थियो । वाइसीएलले केपी ओलीको सट्टामा एमाले उपाध्यक्ष वामदेव गौतमलाई निमन्त्रणा पठायो । तर, आजको कार्यक्रममा वामदेव गौतम पनि कार्यव्यस्तता भन्दै पन्छिन पुगे ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको कायृक्रममा माओवादी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा (बादल) लगायतको सहभागी थिए । आज वाइसीयलको पहलमा देशका प्रमुख १० शहरमा जनयुद्ध दिवसको कार्यक्रम आयोजना गरिएको छ ।