बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

देशकै सबैभन्दा होचो मान्छे भेटिएको दाबी, उचाइ मात्र ३१ इन्च

बुधबार, माघ १७ २०७४

मोरङ माघ, १७–
 विराटनगर–१९, बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइ मात्र ३१ इन्च छ । देशभर रहेका होचाको उचाइलाई गुगलमा सर्च गर्दा यति उचाइको व्यक्ति अरू भेटिनु भएन ।

तेह्र किलो वजनका प्रकाशलाई विराटनगरका प्रमुख भीम पराजुलीले घरमै गएर भेट्नुभयो । उहाँले प्रकाश नेपालकै होचा व्यक्ति हुनसक्ने भन्दै यस्ता युवकलाई प्रोत्साहन गर्न महानगरपालिकाले मासिक रु तीन हजार आन्तरिक स्रोतबाट उपलब्ध गराउने गरी प्रदान गर्ने घोषणा गरे ।

नेपालमा रहेका र रेकर्ड बनाउने सबै होचा व्यक्तिको निधन भइसकेको छ । प्रमुख पराजुलीले भने “प्रकाश नेपालका होचा व्यक्ति नहुन पनि सक्छन्, हुन पनि सक्छन् तर, यस्ता व्यक्तिलाई प्रोत्साहन गर्नु महानगरपालिकाको कर्तव्य ठानेका छौँ ।” पराजुलीले प्रकाश होचा प्रमाणित भएको अवस्थामा विराटनगरका लागि गौरवको विषय हुने बताए ।

नागरिकता प्राप्त गरिसकेका प्रकाशलाई हालै मात्र विराटनगर–१९ वडाका अध्यक्ष बद्रीनारायण सरदारको सहयोगमा भत्ताबापत मासिक रु दुई हजार दिने गरी रातो कार्ड बनाइएको छ ।

“मैले धेरै ठाउँमा सोधखोज गरेँ तर, प्रकाशको उचाइजस्तो नेपाली नरहेको जानकारी पाएको छु ,” वडाध्यक्ष सरदारले भने ।
संसारकै होचा चन्द्रबहादुर डाँगी २२ इन्चका थिए । उनको निधन भइसकेको छ । खगेन्द्र थापामगर (पोखरा) उचाई २ फिट २६ इन्च थियो । संसारकै होचा कलाकार काठमाडौँका दीपेनको उचाइ ३१ इन्च थियो । उहाँको केही महिनाअघि निधन भएको थियो । “नेपालमा सबैभन्दा होचा व्यक्तिबारे सम्पूर्ण तथ्यांक लिएर हामी प्रकाशको पक्षमा केही गर्छौं”, प्रमुख पराजुलीले भन्नुभयो ।

प्रकाशका बाबु नकुवाको क्यान्सरले केही वर्षअघि निधन भइसकेको छ । आमा बिमला घरेलु कामदारका रुपमा काम गर्नुहुन्छ । उहाँका एक दाइ हुनुहुन्छ श्यामसुन्दर । प्रकाश विराटनगर–१९ मा स–साना बालबालिकाका साथी बनेर दिनचर्या बिताइरहनुभएको छ ।

यता मोरङ सुन्दरहरैँचा नगरपालिकाले देशकै होची महिला सार्वजनिक गरेको थियो । प्रमुख शिवप्रसाद ढकालले सुन्दरहरैँचा–४ निवासी रमेशप्रसाद मुरर ऋषिदेवका १९ वर्षीया छोरी मालती (उचाई ३२ इन्च र वजन १४ किलो) लाई सार्वजनिक गर्नुभएको थियो । प्रमुख ढकालले नगरपालिकाबाट मालतीलाई सामाजिक सुरक्षा भत्ताबापत मासिक रु दुई हजार उपलब्ध गराउने घोषणा गरेका थिए । रासस