बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

माघ १७ गते बेलुकी ५ः५५ मा चन्द्रग्रहण लाग्ने

मंगलबार, माघ १६ २०७४

काठमाडौं माघ, १६–
भोलि बुधबार बेलुकी माघ शुक्ल पूर्णिमाका दिन  खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने बताईएको छ ।

ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देख्न सकिने सोसाइटीले जनाएको छ । आधुनिक विज्ञानअनुसार चन्द्रग्रहण हेर्न टेलिस्कोप अथवा अन्य कुनै यन्त्रको सहयोग लिनुपर्दैन । खुला आँखाले पनि हेर्न सकिन्छ । जुनसुकै राशि भएकाहरुले पनि चन्द्रग्रहण हेर्दा वैज्ञानिक आधारमा केही असर नपर्ने सोसाइटीका अध्यक्ष भट्टराईको मत छ ।