काठमाडौं माघ, १६–
मच्छिन्द्रबहालमा हिजो मारिएका सुरक्षागार्डको हत्या आफ्नै सहकर्मीबाट भएको खुलेको छ । आइतबार राति इस्टवेस्ट सेक्यूरिटिजमा कार्यरत् सुरक्षागार्ड मावापौवा घर भएका ५३ वर्षीय तुलबहादुर तामाङको हत्या भएको थियो । उक्त हत्या उनकै सहकर्मी सुरक्षागार्डको ईटा प्रहारबाट भएको तथ्य खुलेको हो ।
उनको हत्यामा संलग्न भएको आरोपमा तामाङकै सहकर्मी मकवानपुरको साविक चितलाङ–२, हालको थाहा नगरपालिकाका २२ वर्षीय राजन थापा क्षेत्री पक्राउ परेका हुन्।
ड्यूटीको विषयमा वादविवाद हुँदा उनले तामाङको हत्या गरेका प्रहरीले बताएको छ । सोमबार महानगरीय प्रहरी परिसरले उनलाई काठमाडौंको बाङ्गेमुढाबाट पक्राउ गरेको थियो ।