काठमाडौं माघ, १२–
पूर्वी रुकुकमका बासिन्दा सरकारविरुद्ध आन्दोलित भएका छन् । रुकुमकोटलाई हटाएर सरकारले जिल्ला सदरमुकाम अन्यत्र तोकेको भन्दै रुकुम पूर्वको रुकुमकोटबासीले आन्दोलन थालेका हुन् ।
रुकुम पूर्वको सदरमुकामको रुपमा रुकुमकोटबाट अहिलेसम्म कामहरु हुँदै आएको थियो । तर, बिहीबार राति बसेको मन्त्रिपरिषद बैठकले पुथाउत्तरगंगा गाउँपालिका–१२, को गोलखाडालाई केन्द्र तोकिदिएको थियो ।
गएरातिदेखि नै निर्णयको विरोधमा रुकुमकोटबासीले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् भने राति मसाल जुलुस पनि निकालेका छन् । चोकचोकमा टायर बालिएको छ ।
आज पनि आन्दोलन जारी रहेको र अब कसरी अगाडि बढ्ने भनेर अहिले रुकुमकोटको छिप्रिदहमा स्थानीयबासी भेला भएको बताईएको छ ।
जिल्ला अदालत बाहेक सम्पूर्ण सरकारी कार्यालयमा तालावन्दी गरेर स्थानीयले रुकुमकोट आउने र बाहिर जाने यातायात समेत बन्द गराएर आन्दोलित भएका छन् ।