काठमाडौं माघ, ३–
माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले एमाले–माओवादीबीचको एकतामा कुनै
शंका नलिन आग्रह गरेका छन् । बुधबार बिहान प्रेस सेन्टर कास्की र प्रेस चौतारी कास्कीले संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महराले उक्त कुरा बताएका हुन् । उनले दुई अलग–अलग पार्टीबीचमा बिचार, राजनीति र संगठन मिलाउन केही समय लाग्ने जनाए । सबै कुरा मिलाउन समय लाग्ने भएपनि पार्टी एकता हुनेमा कुनै पनि समस्या नभएको नेता महराको भनाई छ ।
उनले भने, ‘पार्टी एकता हुन्छ, त्यसमा कुनै समस्या वा दुविधा छैन,’ दुई अलग–अलग धारमा हिँडेको छुट्टै बिचार, छुट्टै राजनीति र छुट्टाछुट्टै संगठन भएको पार्टीलाई मिलाउन केही समय भने लाग्न सक्छ ।’
नेता महराले वाम गठबन्धन मिलेर चुनाव लड्दा जनताले पनि पार्टी एकताको जनादेश दिएको उनले बताए । ‘जनादेशले दुई पार्टी मिल्न भनेको छ, अब एमाले र माओवादी केन्द्र मिल्नैपर्छ ।’ उनले भने ।
एमाले अध्यक्ष केपी ओली स्वदेश फर्केपछि दुई पार्टी अध्यक्षबीच खुलेर कुरा हुने र एकताको टुंगो लगाउने तयारी भएको महराले जनाए ।
अहिले नै पार्टी एकताको सबै कुरा टुंङगि नसकेपनि दुई पार्टी अध्यक्षबीच खुलेर कुरा भइसकेपछि सबै कुरा टुङ्गिने उनको भनाइ छ ।
एमाले र माओवादी केन्द्रले जसरी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तालमेल गरे त्यसरी नै अब राष्ट्रिय सभाको चुनाव र प्रदेश सभाको सरकार गठनमा पनि तालमेल हुने प्रष्ट पारे । त्यसका लागि दुई पार्टीबीच प्रारम्भिक छलफल भइरहेको र चाँडै दुई अध्यक्ष बसेर टुंगो लगाउने महराले बताए ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता महराले संवैधानिक समस्या देखाएर प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता लम्ब्याउने प्रयास गरिरहेको आरोप समेत लगाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसका कारण प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने बिषयमा सहमति हुन नसकेको समेत महराले जिकिर गरे ।